व्यावसायिक सिस्नुखेती सुरु

२०८२ असार २५ गते, बुधबार

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँका साथै देशका विभिन्न भागमा सञ्चालित तारे होटलमा सिस्नुको माग बढ्न थालेपछि यहाँका किसानले व्यावसायिक रूपमा सिस्नोखेती थालेका छन्।
लालीगुराँस नगरपालिका-१ स्थित चैते सामुदायिक वनमा सिस्नोको व्यावसायिक खेती थालिएको हो। वन वरपरका निजी जग्गामा पनि सिस्नु रोपिएको छ। सामुदायिक वनको ३६५ हेक्टरमध्ये एक हेक्टरमा सिस्नुका बिरुवा लगाउने योजना समितिको रहेको उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काले बताए।
डिभिजन वन कार्यालयमार्फत प्रदेश सरकारको जडीबुटी विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा रु १० लाख मूल्यबराबरको सिस्नु प्रशोधन गर्ने मेसिन अनुदानमा चैते सामुदायिक वनले प्राप्त गरेको छ। आगामी साउनदेखि उक्त मेसिन सञ्चालन गरी सिस्नुको धुलो बजारमा ल्याउने योजना रहेको अध्यक्ष खड्काले जानकारी दिए।
‘हाल निजी जग्गाको सिस्नु स्थानीय होटल र बजारमा बिक्री भइरहेका छन्, सिस्नु प्रशोधन गर्ने मेसिन ल्याएर धुलो बजारमा पठाउँदा निजी जग्गाको सिस्नुले मात्र माग नधान्ने भएकाले वन क्षेत्रका खाली जग्गामा पनि सिस्नु रोपेका हौँ’, उनले भने। साउनदेखि सिस्नु प्रशोधन गर्ने मेसिन जडान गरी लोकल, पात्ले र अल्लो जातका सिस्नुको धुलो अन्तर्राष्ट्रिय बजारमा पुरयाउने योजना उनले सुनाए।
गुराँसको राजधानी तीनजुरे-मिल्के-जलजले (टीएमजे) क्षेत्रको तीनजुरे लालीगुराँस नगरपालिकामा पर्छ। लालीगुराँस नगरपालिकाको वसन्तपुरमा पर्यटकको चहलपहल भइरहन्छ। होटलमा आउने पर्यटकको रोजाइमा सिस्नु पर्ने गरेको वसन्तपुरस्थित टुटे देउराली हिमगङ्गा गेष्ट हाउसकी सञ्चालक यशोदा कार्कीले बताइन्। उनका अनुसार वसन्तपुर बजारका हरेक होटलमा सिस्नुका परिकार पाक्छ।
स्थानीयले बजारका होटलसम्म सिस्नु पुर् याउँछन्। वसन्तपुर बजार भएर यात्रा गर्ने यात्री र पर्यटकले प्रायः सिस्नु किन्ने गरेका रुपा स्टोरककी सञ्चालक रूपा रायले बताइन्। ‘वसन्तपुरबाट हरेक दिन कम्तीमा पनि एक गाडी तराईका जिल्लामा पहाडको निगुरो, च्याउ र सिस्नु पठाउने गरेको छु’, उनले भनिन्।
सङ्खुवासभाको धर्मदेवी गाउँपालिका- १ का ६० वर्षीय रमेश गुरुङ र उनकी श्रीमती हर्कमाया दिन बिराएर वसन्तपुरका होटलमा सिस्नु बेच्न ल्याउँछन्। प्रतिमुठा २५ देखि ३० मा सिस्नु बेचेर एक हजार ५०० सम्म आम्दानी गरी घर फर्कने गरेको गुरुङ दम्पतीले बताउनुभयो। निजी जग्गा र जङ्गलमा उम्रिएका सिस्नु टिपेर ल्याउने गरेको उनीहरू बताउँछन्। -रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २२.०४ अंकले बढ्यो

२०८२ असार २५ गते, बुधबार

नेप्से ०.४१ अंकले घट्यो

२०८२ असार २४ गते, मंगलवार

२ सय मेगावाट विद्युत् उत्पादन बन्द !

२०८२ असार २४ गते, मंगलवार