भारतले नेपालबाट थप २ सय मेगावाट विद्युत खरिद गर्ने

काठमाडौँ । भारतले नेपालबाट थप २ सय मेगावाट विद्युत खरिद गर्ने भएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई मध्यकालीन सम्झौताअनुसार नेपालबाट थप विद्युत खरिद गर्न स्वीकृति प्रदान गरेको हो ।
यसअघि भारतले नेपालबाट ८१०.९ मेगावाट विद्युत आयात गर्न अनुमति दिएको थियो । थप विद्युत आयात गर्न स्वीकृती दिएसँगै अब अब नेपालबाट भारतमा १०११ मेगावाट विद्युत निर्यात हुनेछ । उक्त विद्युत आगामी अक्टोबरसम्म बिक्री गरिने छ र यसको बिक्रीदर प्रतियुनिट ८.७२ रुपैयाँ ७२ हुनेछ ।
लिखु–२, लिखु खोला ए , लोअर सोलु, ठुलो खोला , सुपर काबेली खोला ए र सुपर काबेली खोलाबाट उत्पादित बिजुली गरी ६ वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत भारत निर्यात हुनेछ । जसमा हरियाणा राज्यलाई ४३५.२ मेगावाट बिजुली बिक्री हुनेछ ।
नेपालले आर्थिक वर्ष २०८१/८२ मा १७ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको विद्युत भारत निर्यात गरेको थियो भने २ अर्ब ९२ करोड ३१ लाख रुपैयाँको बिजुली आयात गरेको थियो ।