सेबोनद्वारा सञ्चालक समितिको आकस्मिक बैठक बोलाउने तयारी

काठमाडौँ । धितोपत्र बोर्डले सञ्चालक समितिको आकस्मिक बैठक बोलाउने तयारी गरेको छ । जेनजी आन्दोलनका क्रममा केही दिन बन्द भई आज(बिहीबार)देखि सुरु भएको बजारमा एकपछि अर्को नेगेटिभ सर्किट लागेको थियो । बजार ६ प्रतिशतले घटेपछि आजका लागि कारोबार स्थगन भइसकेको छ ।
बजार परिसूचक(नेप्से) १६०.३३ अंकले घटेर लगानीकर्ता प्यानिक देखिएपछि प्रमुख नियामक धितोपत्र बोर्डले आकस्मिक बोर्ड बैठक बोलाउने तयारी गरेको हो ।
जेनजी आन्दोलनका क्रममा लगानीकर्ताको सम्पत्ति स्वाहा हुने अवस्था देखिएपछि कमभन्दा कम क्षति हुने गरी कसरी बजार सञ्चालन गर्ने भन्ने विषयमा केन्द्रीत रही बोर्ड बैठक बोलाउने तयारी भइरहेको उच्च स्रोतले जानकारी दिएको छ ।
त्यसअघि धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले केही लगानीकर्ताका अगुवाहरुसँग छलफल गर्दैछन् । उनीहरुले अन्तिम १५ मिनेटको नियम निलम्बन लगायतका विषय बोर्डसँग बसेर छलफल गर्न लागेका हुन् । केहीबेरपछि बोर्डमा लगानीकर्तासँग हुने छलफललाई आधार बनाएर आकस्मिक बोर्ड बोलाउने तयारी भएको हो ।