प्राधिकरणले बुटवल–भैरहवा औद्योगिक करिडोरका दश उद्योगको विद्युत लाइन काट्यो
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बुटवल–भैरहवा औद्योगिक करिडोरका दश उद्योगमा विद्युत लाइन काटेको छ । प्राधिकरणले शुक्रबार साँझदेखि ट्रंकलाइन महसुल नतिर्ने उद्योगको विद्युत लाइन काटेको हो ।
प्राधिकरणले भलबारी स्वचालित चामल कारखाना, घराना फुड्स्,पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, एभरेष्ट रोलिङ, एसआर स्टिल, एसआर फुड, गोयनका फुड्स, सिद्धार्थ पेट प्लास्ट,र श्याम प्लास्टिक उद्योगको लाइन काटेको हो ।
डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेको बक्यौता उठाउने विषयमा सरकार, प्राधिकरण र उद्योगबिच पटकपटक विवाद हुँदै आइरहेको छ। उद्योगीहरुले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुल अन्तर्गत पर्ने करिब साढे ५ अर्ब रकम बक्यौता तिर्न बाँकी छ।
प्राधिकरणले पछिल्लोपटक गत असोज १२ गते उद्योगहरुलाई २१ दिनभित्र बक्यौता रकम तिर्न सार्वजनिक सूचना जारी गरेको थियो । तर उद्योगीहरुले महशुल नतिर्ने अडान लिएका थिए ।
