तीन महिनामा ५० अर्ब ६० करोड सरकारी ऋण थपियो !
 
                
काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा ५० अर्ब ६० करोड सरकारी ऋण थपिएको जनाएको छ ।
कार्यालयले सार्बजनिक गरेको ऋण प्रतिवेदन अनुसार गत असार मसान्त सम्म २६ खर्ब ७४ अर्ब चार करोड सरकारी ऋण रहेकोमा असोज मसान्तसम्म बढेर २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको हो । योसँगै सरकारी ऋण कुल गार्हस्थ्य उत्पादनको ४४.६१ प्रतिशत पुगेको छ । कूल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५३. ०९ प्रतिशत अर्थात् १४ खर्ब ४६ अर्ब ५८ करोड रहेको छ भने आन्तरिक ऋणको हिस्सा ४६. ९१ प्रतिशत अर्थात् १२ खर्ब ७८ अर्ब ७ करोड रहेको छ ।
चालु आर्थिक वर्षमा पाँच खर्ब ९५ अर्ब बराबर सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य रहेकोमा पहिलो तीन महिनामा एक खर्ब ८४ करोड ऋण प्राप्त भइसकेको सार्बजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा उल्लेख छ । जुन वार्षिक लक्ष्यको तुलनामा १६.९३ प्रतिशत बराबर रहेको छ । जस मध्ये आन्तरिकतर्फ ३ खर्ब ६२ अर्ब ऋण उठाउने सरकारी लक्ष्य रहेकोमा असोज मसान्तसम्ममा ९० अर्ब अर्थात् वार्षिक लक्ष्यको २४. ८६ प्रतिशत ऋण उठिसकेको छ । त्यस्तै, बाह्यतर्फ २ खर्ब ३३ अर्ब ६६ करोड बराबर उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको ४. ६५ प्रतिशत अर्थात् एक अर्ब ८४ करोड बराबर मात्रै उठ्न सकेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा सरकारी ऋणको साँवा ब्याज तिर्न सरकारले यस वर्ष ४ खर्ब ११ अर्ब एक करोड बराबर बजेट विनियोजन भएकोमा आश्विन मसान्तसम्म एक खर्ब ९ र्ब ८९ करोड बराबर भुक्तानी भइसकेको उल्लेख छ ।
यो वार्षिक बजेट विनियोजनको आधारमा २६. ७४ प्रतिशतको हो । कूल गार्हस्थ्य उत्पादनका आधारमा असोज मसान्तसम्ममा कूल ऋण सेवा खर्च एक दशमलव ८० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

 
                 
                             
                             
                         
                         
                        