कुल निक्षेप ७४ खर्ब ७५ अर्ब !
                काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ७५ अर्ब पुगेको छ । कात्तिक दोस्रो हप्तासम्म वाणिज्य बैंकले मात्रै ६७ खर्ब १७ अर्ब निक्षेप संकलन गरेका छन्। यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ५६ खर्ब ३५ अर्ब कर्जा प्रवाह गरेका छन्। वाणिज्य बैंकहरू मात्रै ५० खर्ब १२ अर्ब कर्जा प्रवाह गरेका छन्। राष्ट्र बैंककाअनुसार विकास बैंक तथा फाइनान्सले यो अवधीमा ७ खर्ब ५८ अर्ब निक्षेप संकलन गरेका छन्। उनीहरूले कर्जा प्रवाह भने ६ खर्ब २३ अर्ब गरेको तथ्यांकले देखाउछ। यो अवधिमा बैंकिङ क्षेत्रमा कायम रहेको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) भने ७४ दशमलव २५ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाहरूले कर्जा दिनसक्ने क्षमता अझै पनि धेरै रहेको रहेपनि कर्जा प्रवाह सुस्त छ।
पछिल्लो समय कर्जाको माग निरन्तर घट्दो क्रममा रहेको छ। बैंकहरूले कर्जाको लागि निर्धारण गर्ने औसत आधार दर महिनैपिच्छे घट्दै आएको छ। कात्तिक महिनाको लागि बैंकहरूको औसत ब्याजदर ५.६७ प्रतिशत निर्धारण भएको छ। यो ब्याजदर निकै कम हो। यसमा निश्चित प्रतिशत प्रिमियम थप गरेर बैंकहरूले कर्जा लगानी गर्दै आएका छन्। पछिल्लो समय आधार दरमा निकै न्यून मात्रै प्रिमियम थप गरेर बैंकहरूले कर्जा लगानी गर्दै आएका छन्। तर पनि कर्जा प्रवाह बढ्नै सकेको छैन ।
खासगरी जेन–जी आन्दोलनमा निजी क्षेत्रका घरनामाथि छानिछानि आक्रमण भएपछि लगानीकर्ताहरू त्रसित बन्दै आएका छन्। नेपाल उद्योग वाणिज्य महासंघसहितका निजी क्षेत्रका छातासंगठनले शान्ति सुरक्षाको प्रत्याभुति र लगानीकर्ताको मनोबल उठाउने खालका कार्य गर्न सरकारलाई बारम्बार आग्रह गर्दै आएका छन्।
बैंक तथा वित्तीय संस्थाहरूबाट तत्काल ठूलो मात्रमा कर्जा प्रवाह हुने स्थिति नदेखिएपछि राष्ट्र बैंकले लामो समयका लागि निक्षेप तानिरहेको छ। पछिल्ला दिनहरूमा बजारमा कर्जाको माग धेरै बढ्न नसक्दा बैंक, वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम थुप्रिरहेको छ।
यसैलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले लामोसमयका लागि मौद्रिक उपकरणको प्रयोग गरिरहेको छ। नेपाल राष्ट्र बैंकले आइतवार ४० अर्ब निक्षेप १ सय ७५ दिनका लागि खिचेको थियो भने अघिल्लो साताको बुधवार पनि राष्ट्र बैंकले बजारबाट १ सय ७५ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ उठाएको थियो।
त्यसअघि राष्ट्र बैंकले यतिधेरै अवधिका लागि पछिल्ला वर्षहरूमा निक्षेप उठाएको थिएन। बैंकहरूले तत्काल कर्जा प्रवाह गर्ने छाटकाट नदेखाएपछि राष्ट्र बैंक दीर्घकालिन रुपमै निक्षेप व्यवस्थापनमा लागेको राष्ट्र बैंकका अधिकारीहरूले बताउँदै आएका छन्।
