रतुवा-केशलिया सडकको ठेक्का तोडियो
काठमाडौँ । हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा-केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ। हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि हेटौंडासँगको ठेक्का सम्झौता अन्त्य गरेको जनाएको छ।
सडक स्तरोन्नति तीन वर्षभित्र सम्पन्न गर्नेगरी कम्पनीसँग २०७६ कात्तिक २३ मा ८३ करोड ९९ लाख रुपैयाँमा (करसहित) ठेक्का सम्झौता भएको थियो। २०७९ कात्तिक २३ भित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकोमा निर्माण प्रगति करिब २५ प्रतिशत मात्र छ।
ठेक्का सम्झौताको म्याद दुई पटक थप गरिएको थियो। पछिल्लो पटक थप गरिएको ठेक्का सम्झौता गत जेठमा सकिएको थियो। पटकपटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले जानकारी दिए।
ठेक्का सम्झौता रद्द गरिएको निर्माण व्यवसायीको कार्यसम्पादन जमानत बापतको ४ करोड १९ लाख र पेश्की बापतको ९ करोड ६७ लाख रुपैयाँ जफतका लागि बैंकमा पत्रचार गरेकोयोजना प्रमुख पोखरेलले जानकारी दिए। पेश्की रकममा १० प्रतिशत ब्याजसहित असुल हुनेछ।
योजना कार्यालय इटहरीबाट गत साउनमा ‘ठेक्का किन नतोड्ने ?’ भन्दै निर्माण व्यवसायीसँग १५ दिने स्पष्टीकरण मागिएको थियो। स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्द गरिएको हो।
हालसम्मको काम र बाँकी कामको नापजाँच मूल्याङ्कन गरी वित्तीय फरफारख गर्न १५ दिनभित्र कार्यालयमा उपस्थित हुन व्यवसायीलाई अनुरोध गरिएको छ। निर्माण व्यवसायी कार्यालयमा उपस्थित नभएमा कार्यालयबाट नापचाँच गरिने बताइएको छ।
