इसेवाद्वारा आईपीओ जारी गर्ने तयारी

२०८२ मंसिर २८ गते, शनिबार


काठमाडौँ । इसेवा लिमिटेडको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मङ्‌सिर २४ गते काठमाडौं स्थित मेरियट होटलमा कम्पनीका सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षेत्रीको अध्यक्षतामा कम्पनीका शत प्रतिशत सेयरधनीहरूको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा कम्पनीले निकट भविष्यमा आईपीओ जारी गरी सर्वसाधारण जनतासम्म पुग्ने योजना रहेको जानकारी दिइएको थियो । साधारण सभाले आ.व. २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पारित गरेको छ ।
त्यसैगरी, आ.व. २०८१/८२ को लेखापरीक्षक प्रतिवेदनका आधारमा कम्पनीको खुद नाफा तथा जगेडा कोषबाट हालको चुक्ता पूँजीको ८०.५३ प्रतिशतले हुन आउने ३० करोड ६० लाख रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिएको छ । साथै, चुक्ता पूँजीको ३१.५८ प्रतिशत बराबरको १२ करोड रुपैयाँको बोनस सेयर जारी गर्ने निर्णयसमेत सभाले स्वीकृत गरेको छ ।
साधारण सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरू सुबास शर्मा र सौगात केसीलाई पुनः निर्वाचित गरेको छ । साथै, आ.व. २०८२/८३ का लागि पीकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनीलाई लेखापरीक्षकका रूपमा नियुक्त गर्ने निर्णय पनि पारित गरिएको छ ।
वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षेत्रीले कम्पनीको वित्तीय अवस्था तथा अन्य सूचकहरू उत्साहजनक रहेको उल्लेख गर्दै आगामी दिनमा थप सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले नियामकीय अनुपालनप्रति कम्पनीले शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताउँदै प्रयोगकर्ता, आधिकारिक प्रतिनिधि, मर्चेन्ट, नियामक निकाय तथा कर्मचारीहरूप्रति धन्यवाद व्यक्त गरे ।
त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले लगानीकर्ताहरूको विश्वास, सञ्चालक समितिको मार्गदर्शन तथा व्यवस्थापन टोलीको निरन्तर मिहिनेतका कारण कम्पनीलाई सुदृढ अवस्थामा पुर्याउन सफल भएको बताए । उनले दीर्घकालीन दृष्टि र रणनीतिक रोडम्याप तयार गर्दै जोखिम न्यूनीकरणमा कम्पनी केन्द्रित रहेको जानकारी पनि दिए ।
साधारण सभामा कम्पनीका सेयरधनीहरूले कम्पनीको उत्कृष्ट वित्तीय अवस्था, बढ्दो ब्राण्ड मूल्य र देश तथा विदेशमा इसेवाको सेवा तथा प्रभाव विस्तारबारे खुसी व्यक्त गरेका थिए । त्यस्तै, व्यवसाय विस्तारसँगै जोखिम र नियमनसम्बन्धी चुनौतीहरू बढ्दै गएकाले नवप्रवर्तन, लगानी, नाफा वितरण योजना, जोखिम न्यूनीकरण तथा दिगोपनमा ध्यान दिन सुझाव दिए ।

प्रतिक्रियाहरु

[anycomment]