अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

२०८२ मंसिर २८ गते, शनिबार


काठमाडौँ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार शनिबार १ अमेरिकी डलरको खरिददर १४४ रुपैयाँ ३७ पैसा पुगेको छ, जुन हालसम्मकै उच्च भाउ हो। पछिल्ला केही महिनादेखि डलरको भाउ निरन्तर उकालो लाग्दै आएको छ। यसले विनिमय दरमा दबाब बढाएको छ।
बजार विश्लेषकहरूका अनुसार विश्वव्यापी रूपमा अमेरिकी अर्थतन्त्र तुलनात्मक रूपमा मजबुत देखिँदा र अमेरिकी केन्द्रीय बैंक (फेड) का नीतिगत ब्याजदरहरू उच्च रहँदा डलर सुरक्षित लगानीका रूपमा आकर्षक बनेको छ। यसले अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढाएर मूल्य माथि धकेलेको छ। अर्कोतर्फ, भारतीय रुपैयाँ अमेरिकी डलरसँग कमजोर बन्दै जाँदा त्यसको असर नेपालमा पनि परेको छ।
भारतमा उच्च भन्सार दर, निर्यात व्यापारमा आएको चुनौती र व्यापार घाटाले भारतीय रुपैयाँ दबाबमा परेको छ। नेपाल र भारतबीच विनिमय दर स्थिर रहेकाले भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ पनि स्वतः प्रभावित हुने गरेको छ।
डलर महँगिदा नेपालमा बहुआयामिक प्रभाव पर्छ। नेपालको अर्थतन्त्र आयात व्यापारमा आधारित छ। पेट्रोलियम पदार्थ ठूलो परिमाणमा आयात हुने मुलुक भएकाले डलरको भाउ बढ्दा इन्धन, औषधि, औद्योगिक कच्चा पदार्थ र कृषिजन्य वस्तुको लागत बढ्छ। यसको प्रत्यक्ष असर उपभोक्ता मूल्यवृद्धि हुँदै सर्वसाधारणको जीवनयापनमा पर्छ। साथै, विदेशी ऋण र अन्तर्राष्ट्रिय भुक्तानी महँगिँदा सरकार र निजी क्षेत्र दुवैको लागत बढ्छ। तर सबै प्रभाव नकारात्मक मात्र छैनन्। विदेशबाट आउने रेमिट्यान्स डलरमा हुने भएकाले यसको भाउ बढ्दा स्थानीय मुद्रामा आम्दानी बढ्छ, जसले उपभोग र आयात भुक्तानीमा केही राहत दिन सक्छ। नेपाल राष्ट्र बैंकका अनुसार हालको विदेशी मुद्रा सञ्चिति आयात धान्न पर्याप्त अवस्थामा रहे पनि दीर्घकालीन दबाब न्यूनीकरणका लागि निर्यात प्रवर्द्धन, आयात व्यवस्थापन र विनिमय दरको सावधानीपूर्वक व्यवस्थापन अपरिहार्य देखिन्छ।
नेपाल राष्ट्र बैंकका अनुसार शनिबार १ अमेरिकी डलरको खरिद दर १४४ रुपैयाँ ३७ पैसा र बिक्री दर १४४ रुपैयाँ ९७ पैसा भएको छ। शुक्रबार खरिद दर १४४ रुपैयाँ ३० पैसा र बिक्री दर १४४ रुपैयाँ ९० पैसा थियो। युरोपियन युरो पनि बढेको छ। शनिबार खरिद दर १६९ रुपैयाँ २४ पैसा र बिक्री दर १६९ रुपैयाँ ९५ पैसा भएको छ। शुक्रबार खरिद दर १६९ रुपैयाँ ९ पैसा र बिक्री दर १६९ रुपैयाँ ७९ पैसा थियो। पाउण्ड स्टर्लिङ भने घटेको छ। शनिबार खरिद दर १९३ रुपैयाँ २ पैसा र बिक्री दर १९३ रुपैयाँ ८२ पैसा भएको छ। शुक्रबार बढेर खरिद दर १९३ रुपैयाँ १२ पैसा र बिक्री दर १९३ रुपैयाँ ९२ पैसा भएको थियो।
कोरियन वोन र स्वीडिश क्रोनर घटेका छन् भने हङकङ डलर स्थिर छ। स्वीस फ्रयांक, सिंगापुर डलर, क्यानेडियन डलर, अष्ट्रेलियन डलर, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, थाइ भाट, यूएई दिराम, कुवेती दिनार, बहरेन दिनार र ओमानी रियाल बढेका छन्। दक्षिण कोरियाली मुद्राको विनिमय दर घटेको छ। शनिबार कोरियन वोन १०० को खरिद दर ९ रुपैयाँ ७८ पैसा र बिक्री दर ९ रुपैयाँ ८२ पैसा भएको छ। शुक्रबार खरिद दर ९ रुपैयाँ ८० पैसा र बिक्री दर ९ रुपैयाँ ८५ पैसा थियो।
स्वीस फ्रयांकको खरिद दर १८१ रुपैयाँ ४८ पैसा र बिक्री दर १८२ रुपैयाँ २४ पैसा भएको छ। शुक्रबार खरिद दर १८१ रुपैयाँ १८ पैसा र बिक्री दर १८१ रुपैयाँ ९३ पैसा थियो। जापानी येनको भने खरिद दर स्थिर छ भने बिक्री दरमा झिनो गिरावट छ। शनिबार जापानी येन १० को खरिद दर ९ रुपैयाँ २६ पैसा र बिक्री दर ९ रुपैयाँ २९ पैसा छ। शुक्रबार खरिद दर ९ रुपैयाँ २६ पैसा र बिक्री दर ९ रुपैयाँ ३० पैसा थियो।

प्रतिक्रियाहरु

[anycomment]