नेवानिले ‘वाइड बडी’ जहाज मर्मत गर्ने
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेवानि) ले ‘वाइड बडी’ जहाजको इन्जिनको पूर्णमर्मत (ओभरहल) गर्न कम्पनी छनोट प्रक्रिया अगाडि बढाएको छ । नेवानिका अनुसार वाइड बडीको इन्जिन नियमित मर्मतका लागि गृहकार्य भइरहेको छ । इन्जिन नियमित मर्मत गर्नुपर्ने अवधि करिब एक वर्ष बाँकी रहँदा अन्तर्राष्ट्रिय बोलपत्रद्वारा इन्जिन रिपेयर/ओभरहल गर्ने एमआरओ छनोट गर्ने सम्बन्धी बोलपत्र तयार गर्न सात सदस्यीय एक उपसमिति गठन गरिएको थियो । उक्त समितिले बोलपत्र तयार तथा आह्वान गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको निगमको भनाइ छ । अबको केही दिनमै उक्त कार्यको सार्वजनिक सूचना जारी हुनेसमेत निगमले जनाएको छ । सार्वजनिक खरिद ऐन, विधि, प्रक्रिया तथा अन्तर्राष्ट्रिय मापदण्ड समेत पूरा गरी निगमले कार्य अगाडि बढाएको जनाएको छ ।
यसैबीच, नेपाल वायुसेवा निगमको ‘न्यारो बडी’ ए३२० जहाजको इन्जिन मर्मत सकिएर इजरायलबाट नेपाल ल्याइएको छ । निगमकाे दर्ता नम्बर ‘९एन-एकेएक्स’ जहाजले नियमित उडान समेत थालेको निगमले जनाएको छ । विविध कारण लामो समयदेखि इजरायलस्थित इजरायल एरोस्पेस इन्डस्ट्रीमा रहेको जहाज सोमबार काठमाडौं ल्याइएको हो ।
इन्जिन मर्मत तथा भाडा खर्चसम्बन्धी विषयमा निगम र इजरायलस्थित आईएआईबीच विद्यमान सम्झौताका आधारमा वार्ताबाट समझदारी सम्पन्न गरी इन्जिन जडान तथा प्राविधिक प्रक्रिया सम्पन्न गरिएको निगमले जनाएको छ । यो जहाज इजरायलको तेलअभिबबाट दुबई हुँदै दुबई–काठमाडौंको नियमित उडान मार्फत काठमाडौं आइपुगेको हो । अब जहाज नियमित उडान तालिकामा फर्केको निगमको भनाइ छ ।
निगम व्यवस्थापनको निरन्तर प्रयास स्वरूप लामो समयदेखि विवादमा रहेको विषय टुंगिएको र १२ महिनाको इन्जिन भाडा र इन्जिन जडान बापत खर्च रकम मिनाहा भई क्षतिपूर्ति स्वरूप निगमले प्राप्त गरी आफ्नै इन्जिन जडान भई काठमाडौं फर्किएसँगै चार वटै जहाजबाट नियमित उडान भइरहेको निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले बताए ।
