सरकारी रकम नबुझाउने ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक
काठमाडौं । सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक भएको छ । सरकारले सार्वजनिक गरेको विवरणमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, दि फूलबारी लिमिटेड पोखराका पियुष बहादुर अमात्यदेखि कर्मचारी, कृषि व्यवसायी, सशस्त्र प्रहरी लगायत छन् ।
महालेखा नियन्त्रकको कार्यालय अन्तर्गतको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहलले ती व्यक्तिको नाम, ठेगाना र तिर्नुपर्ने रकमसहितको विवरण आज सार्वजनिक गर्दै ३५ दिनभित्र साँवा ब्याज तिर्न भनेको छ । अन्यथा उनीहरुको चल अचल सम्पत्ति दाबी गरी प्रचलित कानुन बमोमिज असुल उपर गर्ने चेतावनी दिइएको छ ।
सार्वजनिक सूचनामा लेखिएअनुसार सरकारी रकम तिर्न बाँकी हुनेहरुको लगत कायम गरी उनीहरुको नाम वेबसाइटमा राखेर रकम बुझाउन आउन भनी विगतका वर्षहरुमा पनि पटक–पटक सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । साथै घर ठेगानामामा पत्राचार गरी उपस्थित हुन भनिएको थियो । सो सूचना र प्रयासका बाबजुद पनि सरकारी रकम बाँकी हुनेहरुबाट रकम बुझाउने काम नभएकाले बाध्य भएर तीनपुस्ते विवरण प्रकाशित गरिएको केन्द्रीय तहसिल कार्यालयले जनाएको छ ।
