काठमाडौं-ल्हासा सिधा बस सेवा पुनःसञ्चालन गर्ने सहमति
काठमाडौँ । नेपाल र चीनबीच काठमाडौं-ल्हासा सिधा बस सेवा पुन: सञ्चालन गर्ने सहमति भएको छ। दुई देशका वाणिज्य सचिवले नेतृत्व गरेको सीमा व्यापार तथा सहयोग सम्बन्धी नेपाल चीन समन्वय संयन्त्रको बैठकमा काठमाडौं-ल्हासा सीधा बस सेवा पुन: सञ्चालन गर्ने सहमति भएको हो।
यसअघि २००५ मा काठमाडौं-ल्हासा बस सेवा सुरु गरिएकामा २ महिनामै बन्द भएको थियो। त्यतिबेला साझा यातायातले काठमाडौं–ल्हासा बस सेवा सञ्चालन गरेको थियो। काठमाडौं-ल्हासा करिब १ हजार किलोमिटर दूरीको छ। काठमाडौंबाट तातोपानी हुँदै ल्हासा पुग्न २० देखि २२ घन्टा लाग्छ। काठमाडौं-ल्हासा सिधा बस सेवा पुनः संचालन गर्नका लागि बस सेवा प्रदान गर्ने कम्पनी, यात्रा प्रारम्भ र रोकिने स्थान, सुरक्षा, बसको टिकट बिक्री लगायत प्रयोजनका लागि ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले चिनियाँ पक्षसँग समन्वय गर्नेछ। बस सेवा सञ्चालन गर्ने मिति भने टुंगो लागेको छैन।
चीनको ल्हासामा माघ ६ र ७ गते भएको वाणिज्य सचिवस्तरीय तेस्रो बैठकमा द्विपक्षीय व्यापार, लगानी, पारवहन, भन्सार सहजीकरण, प्राविधिक सहकार्य र व्यापार पूर्वाधार विकास सम्बन्धी विषयमा बृहत छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व वाणिज्य सचिव डा. रामप्रसाद घिमिरे र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व सिजाङ जनसरकारका उपाध्यक्ष चाओ पेङले गरेका थिए।
