विश्व बजारमा सुन–चाँदीको मूल्यमा ठुलो गिरावट

२०८२ माघ १९ गते, आईतवार

काठमाडौँ । विश्व बजारमा बहुमूल्य धातु सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। पछिल्लो कारोबारमा सुनको मूल्य ८.३५ प्रतिशतले घटेको छ भने चाँदीको मूल्यमा झण्डै २५ प्रतिशतको भारी गिरावट देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केभिन वार्शलाई आगामी फेडरल रिजर्भ अध्यक्षका रूपमा मनोनयन गरेपछि बहुमूल्य धातुको बजारमा दबाब बढेको विश्लेषकहरू बताउँछन्। वार्शको मनोनयनपछि अमेरिकी डलर बलियो बन्दै गएको र त्यसको प्रत्यक्ष असर सुन–चाँदीको मूल्यमा परेको हो। विश्लेषकहरूका अनुसार केभिन वार्श मुद्रास्फीति नियन्त्रण र फेडरल रिजर्भको स्वतन्त्रतामा कडा अडान राख्ने व्यक्तिका रूपमा परिचित छन्। उनी कम ब्याजदरको पक्षमा नरहने अनुमान गरिएकाले बजारमा ब्याजदर लामो समय उच्च रहने संकेत मिलेको छ। यसले सुरक्षित लगानीका रूपमा हेरिने सुन र चाँदीमा लगानीकर्ताहरूले बिक्री बढाउँदा मूल्यमा तीव्र गिरावट आएको हो। सुनको मूल्य ८.३५ प्रतिशतले घटेपछि प्रति औंस ४ हजार ९०८ अमेरिकी डलरमा झरेको छ। यद्यपि, हाल सुन विश्वकै सबैभन्दा ठूलो सम्पत्तिका रूपमा कायम छ, जसको कुल बजार पूँजीकरण ३४ हजार १२१ ट्रिलियन अमेरिकी डलर रहेको छ।
त्यसैगरी, चाँदीको मूल्य २५.५० प्रतिशतले घटेर प्रति औंस ८५.२५ अमेरिकी डलरमा झरेको छ। चाँदीको हालको कुल बजार पूँजीकरण ४.७९९ ट्रिलियन अमेरिकी डलर रहेको छ, जसका आधारमा चाँदी विश्वको दोस्रो ठूलो बहुमूल्य सम्पत्तिको रूपमा सूचीकृत छ। विश्व आर्थिक नीतिमा आएको परिवर्तन र अमेरिकी डलरको मजबुतीका कारण निकट भविष्यमासमेत बहुमूल्य धातुको बजार उतार–चढावपूर्ण रहने अनुमान गरिएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु