स्वास्थ्य बिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत्
काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको एक लाखको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । बिमा गरेबापतको एक लाख बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए । उनले बिमा कार्यक्रमअन्तर्गत तीन हजार ५०० बराबरको योगदान बराबर पाँचजना परिवारले पाउने वार्षिक कुल एक लाख बराबरको उपचार सेवाको सीमा यथावत् राखिएको बताए । बोर्डले २५ हजार ओपीडी सेवा र रु ७५ हजार अस्पतालमा भर्ना तथा आकस्मिक सेवाका लागि प्रयोग गर्न सकिने गरी छुट्याइएको सूचना अधिकारी मल्लले बताए ।
स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँचजना परिवारसम्मका लागि तीन हजार ५०० बराबरको योगदानका आधारमा एक लाखसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ । थप प्रतिसदस्य सात सयका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य रु २० हजार बराबरको सेवासुविधा थपिने प्रावधान रहेको छ । बोर्डले अनावश्यक रूपमा हुने ओपीडी सेवाको प्रयोग र दोहोरोपन रोक्न तथा गम्भीर, जटिल र ज्यान जोखिममा पर्ने रोगको उपचारका लागि स्रोत सुनिश्चित गर्नका लागि सेवाको रकम छुट्याएकाले सोहीअनुसार प्रयोग गर्न पनि आग्रह गरेको छ । सूचना अधिकारी मल्लले भने, “पाँचजनाको परिवारले वर्षभरिमा बढीमा रु दुई हजार ५०० बराबरको बहिरंग सेवा (ओपीडी) सेवा लिन पाउने व्यवस्था छ । पाँच जनाभन्दा बढी सदस्य भएका प्रतिसदस्यले थप पाँच हजार बराबरको ओपीडी सेवा कायम गरिएको छ ।”
हाल स्वास्थ्य बिमाको बजेटको ७० प्रतिशतभन्दा ठूलो हिस्सा सामान्य बिरामीको ओपीडी सेवामा नै खर्च भइरहेको छ । यसले गर्दा परिवारमा कसैलाई गम्भीर रोग लाग्दा वा महँगो शल्यक्रिया आवश्यक पर्दा बिमाको रकम अपर्याप्त हुने र बिरामीको आफ्नै खल्तीबाट ठूलो रकम खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको जानकारहरू बताउँछन् ।
बोर्डका सूचना अधिकारी मल्लले वास्तविक बिरामीको उपचारमा बिमाको रकम खर्च गर्ने उद्देश्यका साथ ओपीडी, अस्पताल भर्ना र शल्यक्रियाजस्ता अलग अलग शीर्षकमा खर्च तोकिएकाले त्यसको पालना गर्न आग्रह गरे ।– रासस
