३२ लाख ८३ हजार ७५० रुपैयाँको सामान बरामद

२०८२ फाल्गुन १५ गते, शुक्रबार


काठमाडौँ । सशस्त्र प्रहरीले सर्लाहीमा भन्सार छलीका सामान बरामद गरेको छ, जसको अनुमानित मूल्य ३२ लाख ८३ हजार ७५० रुपैयाँ रहेको छ। पर्सा क्षेत्रबाट दुई पिकअप गाडी र चार मोटरसाइकलमा लोड गरिएका अवैध सामान नियन्त्रणमा लिइएको छ। बरामद गरिएका सामान र सवारी साधन आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालयमा बुझाइएको छ।
सर्लाही । सशस्त्र प्रहरी बल नेपालको सक्रियतासँगै सर्लाहीमा भन्सार छलीका सामान बरामद हुने क्रम बढ्दै गएको छ । सशस्त्र प्रहरीले सर्लाहीको पर्सा क्षेत्रबाट करिब ३२ लाख ८३ हजार ७५० रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको जनाएको छ ।
भारतबाट भन्सार छली गरी सामान ल्याइँदै गरेको विशेष सूचनाका आधारमा खटिएको टोलीले दुई वटा पिकअप गाडी र चार वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो । प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लिला बहादुर कार्कीको कमाण्डमा गएको टोलीले सर्लाहीको पर्सा–५ स्थित सिमानाकाबाट मोटरसाइकलमार्फत ल्याइएका सामान दुई वटा पिकअपमा लोड गर्दै गरेको अवस्थामा बरामद गरेको थियो ।
बरामद सामानमध्ये १ हजार ७८५ केजी भारतीय फूलको अनुमानित मूल्य ७ लाख १४ हजार रुपैयाँ रहेको छ । त्यस्तै, भन्सार छलीका कपडाको मूल्य ८ लाख ८३ हजार ७५० रुपैयाँ आकलन गरिएको छ । साथै नियन्त्रणमा लिइएका दुई पिकअप गाडी र चार मोटरसाइकलको मूल्य करिब २४ लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको सबै सामान र सवारी साधन आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालयमा बुझाइएको छ । सशस्त्र प्रहरीले पछिल्लो समय सर्लाहीका सीमावर्ती क्षेत्रमा निगरानी कडा बनाउँदै अवैध गतिविधि नियन्त्रणमा सक्रियता बढाएको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु