विकास बैंकहरुको मुनाफा दोब्बर !
काठमाडौँ । नेपाल राष्ट्र बैकका अनुसार विकास बैंकहरुको मुनाफा दोब्बर बढेको छ । चालु आवको ७ महिनासम्ममा विकास बैंकहरुले ४ अर्ब एक करोड ३३ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ६०.५४ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म विकास बैंकहरुले २ अर्ब ४९ करोड ९९ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म आइपुग्दा १३ बैंक नाफामा छन् भने ४ विकास बैंकले घाटा ब्यहोरेका छन् । नाफामा रहेका बैंकहरुले गत आवको तुलनामा उल्लेख्य मुनाफा बढाएका छन् । सो अवधिसम्म सबैभन्दा बढी नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले ८२ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३०.५० प्रतिशत बढी हो ।
त्यस्तै, गरिमा विकास बैंकले ७७ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा गत आवको तुलनामा १४.०८ प्रतिशत बढी हो । यसका साथै शाइन रेसुङ्गाले ५१ करोड ८२ लाख, कामना सेवा विकासले ४७ करोड ६० लाख, ज्योति विकास बैंकले ३८ करोड ५६ लाख, सांग्रिला डेभलपमेन्टले ३५ करोड ७६ लाख, महालक्ष्मी विकासले २८ करोड ३४ लाख, लुम्बिनीले २६ करोड ४८ लाख, एक्सेल डेभलपमेन्ट बैंकले ७ करोड १९ लाख, मितेरीले ६ करोड ८० लाख, कर्णालीले २ करोड ९१ लाख, सप्तकोशीले २ करोड ७३ लाख र ग्रीन डेभलपमेन्ट बैंकले १ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको छ ।
यता चार बैंकले भने घाटा ब्यहोरेका छन् । सबैभन्दा बढी घाटा ब्यहोर्नेमा नारायणी डेभलपमेन्ट बैंक रहेको छ । बैंकले ५ करोड १४ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । त्यस्तै, सिन्धु विकास बैंकले १ करोड ५२ लाख, सालपा विकास बैंकले १ करोड ४२ लाख र कर्पोरेट डेभलपमेन्ट बैंकले ६३ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।
यसैगरी, नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार २० वाणिज्य बैंकले चालु आवको ७ महिनासम्ममा ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ५.४० प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुले ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म आधा बैंकको नाफामा सुधार देखिएको छ भने आधा बैंकको नाफा गत आवको तुलनामा घट्न पुगेको छ । समग्रमा वाणिज्य बैंकहरुको नाफा सामान्य बढेको देखिएपनि खासै सन्तोषजनक देखिएको छैन ।
राजनीतिक अस्थिरताका कारण बैंकहरुले अपेक्षित नाफा बढाउन सकेका छैनन् । गत आवको तुलनामा नाफा बढाउने बैंकहरुले पनि सामान्य मात्रै नाफा ग्रोथ गरेको तथ्याङ्कले देखाएको छ ।
सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले सो अवधिसम्म ५ अर्र्ब ३८ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा गत आवको तुलनामा ३४.२१ प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिसम्म बैंकले ४ अर्ब एक करोड रुपैयाँ नफा कमाएको थियो । त्यस्तै, दोस्रो बढी नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको । बैंकले ६.६२ प्रतिशतले नाफा ग्रोथ गरी सो अवधिसम्म ४ अर्ब १४ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिसम्म भने बैंकले ३ अर्ब ८९ करोड रुपैयाँ नाफा कमाएको थियो । तेस्रो बढी नाफा कमाउनेमा कुमारी बैंक रहेको छ । बैंकले ३ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ३२९.८६ प्रतिशत बढी हो ।
माघ मसान्तसम्ममा एभरेष्ट बैंकले २ अर्ब ५० करोड, प्राइम बैंकले २ अर्ब ३९ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब १९ करोड, एनएमबि बैंकले २ अर्ब १३ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ८८ करोड, नेपाल बैंकले १ अर्ब ८५ करोड, सानिमा बैंकले १ अर्ब ७३ करोड, स्ट्याण्डर्ड चार्टड बैंकले १ अर्ब ५६ करोड र हिमालयन बैंकले १ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाएको छ । साथै प्रभु बैकले १ अर्ब ३६ करोड, माछापुच्छ्रे बैकले १ अर्ब २४ करोड, कृषि विकास बैकले १ अर्ब २० करोड, नेपाल एसबिआई बैकले १ अर्ब २० करोड, सिटिजन्स बैकले ५७ करोड, एनआईसी एशिया बैकले ४४ करोड र लक्ष्मी सनराइज बैकले २४ करोड रुपैयाँ नाफा कमाएको छ ।
