तत्काल प्रगतिशील संयुक्त सरकार गठन गर

२०७७ चैत्र ३१ गते, मंगलवार

विश्वव्यापी कोरोना महामारीको कारण देश पुनः ठप्प हुने स्थिति बन्दैछ । यतिबेला कोरोना महामारीबाट देश र जनतालाई सुरक्षित बनाउँदै कसरी जनजीविका सरल बनाउने भन्ने विषयमा बहस चल्नुपर्ने हो । तर, संसद्वादी दलहरु सरकारको लुछाचुँडीमा तल्लिन छन् । उनीहरुको यस्तो हर्कतले जनता आजित भएका छन् । देश र जनताभन्दा आफ्नो पार्टी, आपूm र आफ्ना कार्यकर्तामा मात्र केन्द्रित संसदीय राजनीति हेर्दा यस व्यवस्थाबाट देश र जनताको भलो हुनै सक्दैन भन्ने प्रमाणित भएको छ । संसद्वादी दल र नेताहरुको सत्ता केन्द्रित राजनीतिविरुद्ध अब आमक्रान्तिकारी, देशभक्त र प्रगतिशील लोकतन्त्रवादी दल, नेता र सम्पूर्ण तह र तप्काका बुद्धिजीविहरु एकजुट हुनुपर्ने समय आएको छ । जबसम्म देशमा संसदीय व्यवस्था रहन्छ, तबसम्म देश र जनताले मुक्ति पाउने सम्भावना छैन । त्यसैले अब नेपाल कम्युनिस्ट पार्टीले भनेको जस्तो कस्तो शासन व्यवस्था र शासन प्रणाली देशले अङ्गीकार गर्ने भन्ने विषयको छिनोफानो गर्ने अधिकार जनतालाई दिनुपर्छ । त्यसको लागि तत्काल प्रगतिशील संयुक्त सरकार गठन गरी अगाडि बढ्नुको विकल्प छैन ।

संसद्वादी दलहरुको अंक गणितीय खेलमा लागेर सरकार परिवर्तन हुँदैमा अथवा यही सरकार रहिरहे पनि वर्तमान राजनीतिक समस्याको हल हुन सक्दैन । किनकि संसदीय व्यवस्था देशी, विदेशी दलाल, कमिशनखोरी, भ्रष्टाचारी र कालोबजारीयाको बलमा टिकेको छ । यस व्यवस्थामाथि जनताको कुनै मोह छैन । जनताले नरुचाएको व्यवस्थालाई मलजल गरेर आफ्नो स्वार्थपूर्तिमा लागेका संसद्वादी दल र नेताहरुमाथि जनताको कुनै आशा र भरोसा छैन । तसर्थ, यस्तो अवस्थामा तत्काल प्रगतिशील संयुक्त सरकार गठन गरी देशको वर्तमान राजनीतिक संकटको निकास खोज्नु उपयुक्त हुन्छ । यसैमा देश र जनताको मुक्तिका साथै तमाम दल र नेताहरुको समेत भलाई हुने निश्चित छ । अन्यथा, जनता जाग्ने छन्, जनता जागे के हुन्छ, जनताको नाम भजाएर लुटतन्त्र मच्चाउन पल्किएका दल र नेतालाई सम्झाइरहनु नपर्ला, चेतना भया ।

प्रतिक्रियाहरु

[anycomment]