सहकारीमार्फत् ठगी गर्नेलाई हदैसम्मको कारवाही गर
हालै सार्वजनिक भएको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदनले ४० वटा सहकारी संस्थाले मात्र बचतकर्ताको ७१ अर्ब ३० करोड ४३ लाख रुपैयाँ अपचलन गरेको जनाएको छ । हाल देशभर ३१ हजार ३ सय ७३ सहकारीमा आबद्ध ७३ लाख ८१ हजार सर्वसाधारणको बचतमाथि खेलवाड भएको र ती सहकारी संस्थाहरूबाट अपचलन भएको रकममध्ये करिब १ खर्ब ६० अर्ब रुपैयाँ ५४ ठूला सहकारीले नै अपचलन गरेको समाचारहरु सार्वजनिक भै रहेका छन।
संसदीय विशेष छानबिन समितिको प्रतिवेदनको प्रतिवेदन र विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएका समाचारहरुमा सहकारीको रकम दुरुपयोगमा सत्ताको उपल्लो ओहोदामा पुग्नेहरू नै संलग्न देखिन्छन् । रकमको हिसाबले अर्बाैं रकम उनीहरूले कब्जा गरेर मनपरी गरेको भेटिएको छ । यो सबै हुनुमा मुख्यतः सरकार नै दोषी हो । तसर्थ, अब सरकारले संसदीय समितिको प्रतिवेदनका सुझाव अक्षरस पालना गर्दै तुरुन्त बचतकर्ताको बचत फिर्ता गर्ने तर्फ कडा कदम चाल्नु पर्छ । सहकारीमार्फत् ठगी गर्नेलाई कारबाही गर्ने विषयमा सत्ताधारी राजनीतिक दलले विपक्षीलाई र विपक्षीले सत्ता पक्षलाई आरोप–प्रत्यारोप गरेर बस्ने छुट छैन । किनभने यो बीचमा प्रायः सबै संसदीय राजनीतिक दलहरु सत्तामा पुगिसकेका छन् । सबै संसदीय दलहरु यसका भागिदार छन् । तसर्थ, यो या त्यो बहानामा ठगीमा संलग्नहरूलाई कारबाहीको दायराबाट उम्काउन पाइदैन ।
यसैगरी, सहकारी समस्या सधैंका लागि समाप्त गर्न हाल देखिएका कमजोरी सुधार्ने नीतिगत व्यवस्थाहरू हुनुपर्छ । कहीकतै कमजोरी भएमा त्यसलाई कानुन बनाएर तुरुन्त सुधार्नतर्फ लाग्नुपर्छ । सहकारीका बचतकर्ताहरू आफ्नो बचत कुरेर सडकमा धर्नामा छन् । उनीहरूको माग सम्बोधन हुनैपर्छ । अन्यथा, सहकारी पीडितका घाउमा मलम लगाउन आमनेपाली जनता सडकमा उत्रने छन् र सडकबाटै सहकारीमार्फत् ठगी गर्नेलाई सजाय दिनेछन भने सहकारीका ठगलाई संरक्षण गर्ने राजनीतिक दल, नेतालागायत सम्बन्धित सबैलाई खरानी बनाउने छन्, चेतना भया ।