संसदीय व्यवस्था असफलसिद्ध

२०८१ कार्तिक १७ गते, शनिबार

 संसदवादी दल र नेताहरुको सत्तालिप्साका कारण देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिकलगायत तमाम क्षेत्र अस्तव्यस्त भएको छ ।  आपूmलाई लोकतन्त्रको ठेकेदार सम्झने सरकार, संसदवादी दल र नेताहरु संसद्लाई नै आफ्नो मुठ्ठीमा कस्दै तानाशाही शासन सञ्चालन गर्न कम्मर कसेर लागेका छन् । भ्रष्टाचार, कालोबजारी, महँगी र दण्डहीनताले सीमा नाघेको छ, जनजीवन दिनप्रतिदिन अस्तव्यस्त भएको छ, बैदेशिक हस्तक्षेपले सीमा नाघेको छ । तर सरकार, सत्तासीन दल र नेताहरुलाई यसको कुनै चिन्ता र चासो छैन । उनीहरु ‘फुटाउ र राज गर’ को राजनीतिमा लागेका छन् । जसका कारण लोकतन्त्रको उपहास भएको छ, जनताको आशा र भरोशामाथि कुठाराघात भएको छ । जुन ज्यादै निन्दनीय, घृणित र दुखदायी विषय हो ।

राष्ट्र र जनताको मुहार फेर्न हजारौँ सहिदहरूले बलिदानी गरे पनि न राष्ट्र स्वाधीन हुन सकेको छ, न जनता नै अधिकार सम्पन्न भएका छन् । १० वर्षे जनयुद्ध र १९ दिने जनअन्दोलनबाट प्राप्त उपलब्धिहरु नामेट हुने स्थितिमा पुगेका छन् । देशमा सामन्तवाद, देशी, विदेशी प्रतिक्रियावादी र यथास्थितिवादीको जगजगी दिनप्रतिदिन बढी रहेको छ । देशको शासन, सुव्यवस्था कायम गर्ने राजनीतिक दल र नेताहरू गैरजिम्मेवार बन्दै गइरहेका छन् । राजनीतिक दल र नेताहरू राष्ट्र र जनताभन्दा दल र आफ्नो व्यक्तिगत स्वार्थपूर्तिमा दत्तचित्त छन् । राजनीतिक दल र नेताहरूको यस्तो कार्यले नेपाली जनताले विश्वसामु शिर निहुराउनु पर्ने स्थिति छ । सरकार, संसदवादी दल र नेताहरुको यस्तो हर्कतले संसदीय व्यवस्थाको चिरहरण भएको छ भने आमजनतामाझ संसदीय व्यवस्था घृणित बन्न पुगेको छ । देशको यस्तो बिग्रदो राजनीतिलाई सही मार्गमा ल्याउन अब संसदीय व्यवस्थाको विकल्प खोज्नु अनिवार्य भएको छ । 

तसर्थ, देश र जनताको मुहार फेर्ने प्रतिबद्धताका साथ राजनीतिमा होमिएका दल र नेताहरूले एक पटक गम्भीर भएर सोच्नुपर्ने स्थिति आएको छ । आफ्नो दलगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको निम्ति सोच्न जरुरी छ । त्यसैले देशको वर्तमान राजनीतिक संकट समाधानको लागि नेपाल कम्युनिस्ट पार्टीले भने जस्तो ‘कस्तो शासन व्यवस्था र कस्तो शासन प्रणाली’ लागू गर्ने भन्ने विषयमा तत्काल जनमतसंग्रहको घोषणा गर्नुपर्छ र जनमतसंग्रहको लागि तत्काल संयुक्त प्रगतिशील सरकार गठन गर्नुपर्छ । अन्यथा नेपाली जनता सडकमा उत्रने छन् । जनता सडकमा उत्रे के हुन्छ, आपूmलाई लोकतन्त्रको ठेकादर सम्झने संसदवादी दल र नेताहरुलाई सम्झाइरहनु नपर्ला, चेतना भया ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

प्रि-मनसुन सुरु

२०८१ फाल्गुन १८ गते, आईतवार

सहिदको सपना नभुलौं

२०८१ फाल्गुन १८ गते, आईतवार