नेपाल कम्युनिस्ट पार्टीको अनुकरणीय कार्य
नेपाल कम्युनिस्ट पार्टीको ९ औं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक हालै सम्पन्न भएको छ । कपिलबस्तुको शिवागढ स्थित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा बसेको उक्त बैठकमा सहभागी नेताले आफ्नै पार्टीले तयार पारेको पोशाक, पार्टीले उत्पादन गरेको खाद्यान्न र पार्टीकै भवनमा बसेर बैठक सम्पन्न गरेका छन । नेपाल कम्युनिस्ट पार्टीको यस कार्यबाट आमराजनीतिक दल र नेताले शिक्षा लिनुपर्ने भन्दै अहिले चौतर्फी चर्चाको विषय बनेको छ ।
स्मरणीय छ, नेपाल कम्युनिस्ट पार्टीले ‘आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी केन्द्रीय अभियान २०८०’ सुरु गरेको थियो । यो अभियान अन्तर्गत नेपाल कम्युनिस्ट पार्टीले कृषि, फलपूmल खेति, मौरी पालन, पशुपालन, सिलाई, सेनेटरीलगायत विभिन्न उद्योग र विभिन्न उत्पादनमुलक कार्य गर्दै आएको छ । सो पार्टीले केन्द्रीय उत्पादन अन्तर्गत ४० बिघा र देशभर करिब ३ सय बिघामा धान खेती गरेको बताएको छ । सो पार्टीको चितवन, दाङ्ग लगायतका जिल्लाले लाखौ रुपयाँका धान बिक्री गरेको समाचार सार्वजनिक भइ रहेका छन् । देश खाद्यान्नलगायत सम्पूर्णरुपमा परनिर्भर भइरहेको समयमा नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको उत्पादन कार्य आफैँमा उदाहरणीय, प्रशंसायोग्य र सह्रानीय छ । सरकारले उत्पादनको क्षेत्रलाई बेवास्ता गरिरहेको समयमा नेपाल कम्युनिस्ट पार्टीले देशलाई आत्मनिर्भर बनाउनु पर्ने सन्देशसहित सुरु गरेको यो अभियानबाट सरकारले पाठ सिक्नु आबश्यक छ । सरकारले कृषकलाई समयमा मल बिउलगायत आवश्यक कृषि औजारको व्यवस्था र उत्पादित कृषि सामग्री र उत्पादित सामानको बजार व्यवस्थापनमा ध्यान दिए देश आत्मनिर्भरमात्र होइन उत्पादन कार्यबाट नै देशको देशको अर्थतन्त्र नै मजबुत बन्ने निश्चित छ ।
तसर्थः सरकारले नेपाल कम्युनिस्ट पार्टीले सुरु गरेको कृषि र उत्पादन क्रान्तिको सिको गर्दै देशबाट बाहिरिएका तमाम युवालाई सम्बोधन गर्ने गरी नीति ल्याउनु आवश्यक छ । विदेशिएका युवालाई नेपाल भित्र्याएर विभिन्न उत्पादन मुलक कार्यमा लगाए देश आर्थिकरुपले सवल बन्नेमा कुनै शंका गर्नु पर्दैन । जब देश रेमिट्यान्सको भर पर्नु पर्दैन र आर्थिकरुपले सम्पन राष्ट्र बन्छ तव बैदेशिक हस्तक्षेप पनि स्वत हट्ने निश्चित छ । त्यसैले स्वाधीन राष्ट्र र सार्वभौम नागरिक हुनका लागि नेपाल कम्युनिस्ट पार्टीले अङ्गीकार गरेको उत्पादन नीतिलाई अपनाउनुको बिकल्प छैन, सरकारको घैटोमा बेलैमा घाम लागोस् ।