वर्तमान संकटको समाधान नेपाली विशेषताको समाजवाद

२०८२ बैशाख ८ गते, सोमबार

यतिबेला देशको राजनीति निकै तरल बनेको छ । सरकारले सह िढंगले काम गर्न नसक्दा आमजनता प्रताडित भइरहेका छन् । सरकारको कार्यशैलीकै कारण शिक्षकहरु सडक संघर्षमा उत्रिएका छन् । जसका कारण देशभरका सरकारी बिद्यालय ठप्प छन् । विद्यार्थी भर्ना अभियान संचालन हुन् सकेको छैन, एसइइको नतिजा र कक्षा १२ को परिक्षा प्रभावित हुने भएको छ । सहकारी पीडितले न्याय पाउन सकेका छैनन् । भूकम्प पीडितको हालत उस्तै छ । चिकित्सक, सरकारी कर्मचारी सडक संघर्षको उद्घोष गरिरहेका छन् । भ्रष्टाचार, महँगी, कालोबजारी, बेरोजगारी, अनियमितता, सेटिङ्ग, घुसखोरी, नातावाद, कृपावादले सीमा नाघेको छ । देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिकलगायत सम्पूर्ण क्षेत्र दिनप्रतिदिन दूषित बन्दै गएको छ भने राष्ट्र, राष्ट्रियता र जनजीविकामाथि दिनप्रतिदिन संकट थपिँदै छ । सरकार र संसदीय व्यवस्थाको असफलताका कारण सुशासन एकादेशको कहानी भएको छ । जसको पुष्टि हाल देशभर भएका आन्दोलनले पुष्टि गर्दछ ।

 संसदवादी राजनीतिक दल र तीनका नेता–कार्यकर्ता एकपछि अर्को काण्डमा मुछिएका घटनाहरु सार्वजनिक भइरहेका छन । पोखरा अन्तराष्ट्रिय बिमानस्थल निर्माण कार्यमा भएको अर्वौको भष्टाचार, एक सय सुन बरामद प्रकरण, ललिता निवास प्रकरण, भुटानी शरणार्थीका नाममा भएको ठगीधन्दालगायत एनसेल प्रकरण, बालुवाटार जग्गा प्रकरण, स्वास्थ्य सामग्री खरिद (ओम्नी) घोटला काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, गुणस्तरहीन मल खरिद प्रकरण, नारायणहिटीभित्रै होटल र रेष्टुरेन्ट खोल्न दिने (बतास समूह) प्रकरण, ३३ किलो सुनकाण्ड, वाइडबडी जहाज काण्ड, रेल विभाग प्रकरण, यति समूह काण्ड, गिरिबन्धु टि–स्टेटको जग्गा बिक्री काण्ड, पुस्तक र विद्युतीय सवारीमा कर, चकलेटमा भन्सार छुट काण्ड, कालिगण्डकी डाइभर्सनको प्रकरण, पप्पु कन्स्ट्रक्सन काण्ड, सांसद अपहरण, खरिद–बिक्री काण्ड, अवैध रूपमा चुन उत्खनन्लगायत यावत् प्रकरणमा संसदवादी राजनीतिक दल र तिनका नेता– कार्यकर्ताको संलग्नता रहेको पुष्टि भइरहेका छन् ।

यता, युवा बेरोजगारीका कारण देश छोड्न बाध्य छन्, जसका कारण देश युवाबिहीन हुने स्थितिमा पुगेको छ । सर्वसाधारण जनता वित्तीय संस्था, लघुवित्त र मिटरब्याजीको आतंकबाट त्राहिमाम छन्, महँगीले जनताको चुलोचौको बन्द हुने स्थिति बनेको छ, किसानले समयमा मल–बीउ पाउँदैनन । पीडितले उचित र समयमा न्याय पाएका छैनन् । विकास निर्माणका कार्य ठप्प भएका छन् । देश आन्तरिक रुपमा कमजोर भएको छ भने वैदेशिक हस्तक्षेपले खुला रुप लिएको छ । जता हे¥यो उतै भद्रगोलको स्थिति छ । तर, यसमा सरकार र संसदवादी दल र नेतालाई कुनै चिन्ता र चासो छैन । उनीहरु देशमा आफ्नो लुटको स्वर्ग कायम राख्न कम्मर कसेर लागेका छन् ।

यी सबै तथ्यलाई नियाल्दा संसदीय व्यवस्थाबाट देश र जनताको मुक्ति सम्भव छैन भन्ने कुरा आमसर्वसाधारणले बुझ्ने गरी पुष्टि भएको छ । यस्तो अवस्थामा देश र जनतालाई वर्तमान संकटबाट पार लगाउन नेपाल कम्युनिस्ट पार्टीले भनेजस्तो वैज्ञानिक समाजवादी व्यवस्था अनिवार्य बन्न गएको छ ।

तसर्थ, नेपाल कम्युनिस्ट पार्टीले भनेजस्तो देशमा वैज्ञानिक समाजवाद स्थापना नगरेसम्म वर्तमान संकटको समाधान नहुने देखिन्छ । जबसम्म देशमा संसदीय व्यवस्था रहन्छ, व्यक्ति फेरेर देश र जनताको मुक्ति सम्भव छैन, जुन कुराको पुष्टि हाल आएर भएको छ । वर्तमान संकटको निकास नेपाली विशेषताको समाजवाद नै निर्विकल्प निकास हो । त्यसैको लागि विगतदेखि संघर्षमा होमिएको नेपाल कम्युनिस्ट पार्टीलाई साथ र सहयोग गर्नु अनिवार्य बन्दै गएको छ । अब पनि यी संसदवादी दल र नेताहरुको लहलहैमा लागेर संसदीय व्यवस्था वरिपरी घुमिरहने हो भने देश र जनता भड्खालोमा जाकिने निश्चित छ । त्यसकारण आमसचेत नागरिक नेपाल कम्युनिस्ट पार्टीको एकीकृत जनक्रान्तिमा समाहित हुँदै संसदीय व्यवस्थाको जरो उखेलेर देशमा नेपाली विशेषताको समाजवाद स्थापना गर्न कम्मर कसेर लाग्नुपर्छ । नेपाली विशेषताको समाजवादबाटै वर्तमान संकटको समाधान गरे मात्र देश र जनताको मुक्ति सम्भव छ । अन्यथा यी संसदवादी दलहरुले नेपाल र नेपालीको अस्तित्व नामेट पार्नेछन्, चेतना भया ।

प्रतिक्रियाहरु

[anycomment]