पुष्पलालको सपना साकार पारौँ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवस यही साउन ७ गते देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत प्रायः जसो सबै कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवस मनाएका छन् ।
विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलाल श्रेष्ठले नै कार्लमाक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिष्ट पार्टीको घोषणापत्र, सन् १८४८) को पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै पहिलो पटक विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गरेर नौलो जनवाद स्थापनाका लागि आह्वान गरेका थिए । त्यसैले पुष्पलाललाई नेपालका कम्युनिष्ट पार्टीले नेपालको कम्युनिष्ट आन्दोलनको पिताको रुपमा मान्ने गर्दछ ।
पुष्पलालले पार्टीको घोषणापत्रमा पुष्पलालले नेपाली क्रान्ति, नौलो जनवादको बाटोबाट अघि बढ्नुपर्ने कुरा अघि सारेका थिए । उनले कम्युनिष्ट घोषणापत्र लेखेपछि उनकै नेतृत्वमा २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको थियो । भारतको कलकत्तास्थित श्यामबजारको एक बंगालीको घरमा नेकपा पार्टी स्थापनाको घोषणा भएको थियो । नेकपाको पुष्पलाल संस्थापक महासचिव थिए । नेकपाको स्थापना कालमा पुष्पलाल, नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठ रहेका थिए ।
पुष्पलाल जसले नेपालमा कम्युनिष्ट आदर्शको स्थापना, विकास तथा सुदृढीकरणमा लागि संघर्ष प्रारम्भ गरेका थिए । उनले नेपालका वहुसंख्यक श्रमजीवि शोषित पीडित जनताको हितहरूको पक्षपोषण गर्ने राजनीतिक संगठन नेपाल कम्युनिष्ट पार्टीको जन्म मात्र दिएनन ।
पुष्पलालले वि सं २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना गर्ने काम देखि पार्टीको संगठन विस्तार र पार्टीको पक्षबाट जनताको अधिकारहरूको रक्षाका निम्ति संघर्ष र राष्ट्रियताको पक्षमा निरन्तर ढृढतापूर्वक लागि रहे । तर, आज पुष्पलालकै वाटो पछ्याएको कोकोहोलो मच्याउदै कम्युनिष्टको नकाब भिरेका गैर कम्युनिष्ट चरित्रका छद्मभेषी तत्वहरू कम्युनिष्ट पार्टी र त्यसको नेतृत्वमा हावी भएका छन् । नेपाली अनुहारका विदेशी एजेन्ट यो वा त्यो नाममा कम्युनिष्ट पार्टीभित्र घुसपैठ गरीरहेका छन् ।
कम्युनिष्ट पार्टीको मूल सांगठनिक सिद्धान्त जनवादी केन्द्रीयता केवल पार्टीका दस्तावेजहरूमा सीमित छ, व्यवहारमा गैर जनवादी मात्रै होईन गैर राष्ट्रवादी चरित्रले नेताहरूलाई दिग्भ्रमित भई दिशानिर्देश गरिरहेको छ । कम्युनिष्ट सेवाभावबाट बिमुख भई जनआकांक्षादेखि सर्वथा पृथक तथा जनभावनाको सर्वथा प्रतिकूल ब्यक्तिगत र सत्तामुखी राजनीतिको परिपोषणमा तल्लिन छन् भन्ने कुरा उनीहरूका व्यवहारबाट घाम जत्तिकै छर्लङ्ग छ ।
आज विभाजित नेपाली कम्युनिस्ट आन्दोलन भित्रका नेताहरुले आपूmलाई त्यागी र नेपाली कम्युनिस्ट आन्दोलनमा ठूलो योगदान गरेको बताउन र नयाँ जनवाद, समाजवाद, वैज्ञानिक समाजवाद र वैज्ञानिक साम्यवादी समाज निर्माण गर्ने सवालमा अत्यन्तै गुलिया यथार्थवादी गफ दिन ज्यादै खप्पिस देखिन्छन् । तर, उनीहरूको व्यवहार र जीवन शैली भने विकृत पूँजीवादी ढर्रामा परिणत भैसकेको छ । पजेरो–प्राडो र महल संस्कृतिले सिमा नाघिसकेको छ, तर उनीहरू नै आज पुष्पलालका सच्चा अनुयायी र चेला भएर देखिदै छन् । यही हो वर्तमान नेपाली कम्युनिस्ट आन्दोलनको विडम्बना । किनभने महान् झापा सशस्त्र विद्रोहको जगमा उभिएर आएका हुन् वा महान् दस वर्षे जनयुद्धको विरासतमा उभिएर आएका हुन् या चौथो महाधिवेशनको आराबाट आएका हुन् अथवा पुष्पलालसंगको नाता र साथ संगत गरेर आएका नेपाली कम्युनिस्टहरू हुन्, सबैको चरित्र, जीवन शैली र व्यवहार उस्तै–उस्तै छ ।
पुष्पलाल व्यक्तिगत स्वार्थ र पारिवारिक सुखसुविधामा टाढै रहेका थिए । उनले भारत प्रवासमा बसेर पार्टी चलाउने काममा वहाँ अनेक प्रकारका आर्थिक कठिनाईहरुको सामना गर्नु परेको थियो । त्यस प्रकारका कठिन परिस्थितिमा पुष्पलाल रत्तिभर विचलित नभएर सतिसाल झै भएर देश र जनताको मुक्तिका लागि अडिग रहेका थिए । तर, आज उनका अनुयायीहरु अर्थात कम्युनिस्ट भनिएका नेताहरु संसदवाद र संसदीय व्यवस्थामा चुर्लुम्बै डुवेका छन् र अरबपति, खरबपति बनेर आलिशान महलहरुमा बसेर आनन्द मनाइरहेका छन् । नातागोता, इष्टमित्र र परिवारवादमा फसेका मात्रै छैनन्, घुस, भ्रष्टाचारका सैयौं घटनाहरुमा जोडिएर भ्रष्ट, मानव तस्करसम्मका विल्ला भिरेर नेपाली कम्युनिस्ट आन्दोलनलाई दूर्गन्धित बनाउँदासम्म पनि लाजै नमानेर आपूmलाई कम्युनिस्ट भनाउन र पुष्पलालका अनुयायी, पुष्पलालका चेला हौं, पुष्पलाल स्कुलबाट प्रशिक्षित भएर आएका हौं भन्न लाज मानिरहेका छैनन् । किनकि नेपालका अधिकांश कम्युनिस्ट पार्टी र नेताहरुले वर्गीय धरातल त्यागी सकेका छन्, क्रान्तिकारी धरातल भूलिसकेका छन् । नेपाली क्रान्तिका आधारभूत सिद्धान्तहरु भुलिसकेका छन् । वर्ग उत्थानको परिणाम र विद्यमान नेपाली कम्युनिस्ट आन्दोलनको विडम्बना यही हो ।
यस्तो अवस्थामा सत्तामा रहेका वा सत्तामा नरहेका सबै क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेता–कार्यकर्ता र आमस्वाभिमानी जनता नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा एकजुट भएर पुष्पलालले देखाएको बाटोलाई पछ्याउदै बैज्ञानिक समाजवाद हुँदै साम्यवादतर्फ लम्कनुको बिकल्प छैन । यही नै पुष्पलालप्रति सच्चा सम्मान हुने छ, चेतना भया ।