नेपाल कम्युनिष्ट पार्टीको स्वागत योग्य कदम
नेपाल कम्युनिष्ट पार्टीले गत मंगलवार दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । संसदीय व्यवस्थावाट देश र जनताको मुक्ति सम्भव नभएको भन्दै विगत तेह्र वर्षदेखि निरन्तर संघर्षमा उत्रदै आएको नेकपाले जेन–जी आन्दोलन पछि विकसित घटनाक्रमलाई विश्लेषण गर्दै दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको हो । नेपाल कम्युनिष्ट पार्टीले जनताले आफ्नो फैसला आफैले गर्ने एउटा विधि निर्वाचन भएकाले निर्वाचनमा भाग लिन खोजेको बताएको छ । सो पार्टीले नयाँ दृष्टि अगाडि सारेर जनताको मुद्दा, प्रणालीको कुरा र जनताको चाहनाका कुरा जनता आफैले फैसला गर्न पाउने विधि निर्वाचन भएकोले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको जनाएको छ ।
पहिलो संविधानसभाको हठात विघटन गरेर संसदीय खेलबाट निर्माण गरिएको २०७२ को संविधान लागू नहुँदै विवादित बन्न पुगेको थियो । १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको मर्मविपरीत बनेको संविधानप्रति त्यतिबेलै आमसचेत नागरिकले असन्तुष्टि जनाइसकेका थिए । वर्तमान संविधानले देशको संकट र जनअपेक्षा पूरा गर्न सक्दैन भन्दै त्यतिबेला उठेका स्वर र चलेको संघर्षलाई बन्दुकको बलमा दबाएर जबर्जस्तरूपमा संविधान लागू गरियो । तर, त्यो व्यवस्था र संविधानले न त देशको संकट टार्न सक्यो न जनताको न्यूनतम अपेक्षा नै पूरा गर्न सक्यो । संविधान जारी भएको दश वर्षमा कथित जनप्रतिनिधिमाथि नै आमस्वाभिमानी जनताले विश्वास गर्न सक्ने वातावरण बनेन । संविधान जारी भएको यो दश वर्षमा देशमा इतिहासमै नभएका भ्रष्टाचार भएका छन् । जहानियाँ राणा शासनकाल, निरंकुश राजतन्त्र र पञ्चायतलाई नै बिर्साउने गरी राष्ट्रघात र जनघात भए । देशको आधाउदी बजेट भ्रष्टाचारमै सकिने, नातावाद र कृपावाद दिन दुगुणा रात चौगुणा भएर बढिरहे । समग्रमा भन्नुपर्दा यो व्यवस्था र संविधान जारी भएपछि देश र जनताको मुहारमा खुसी होइन, पीडा मात्र थपिएको छ । यही पीडाको बिस्फोट स्वरूप जेन–जी पुस्ताको आन्दोलन भएको हो ।
जेन–जी आन्दोलन पछि नेकपाले संसदीय व्यवस्थावाट देश र जनताको मुक्ति सम्भव छैन भन्दै उठाएको राजनीतिक एजेन्डाको पुष्टि भएको छ । अहिले देशका तमाम राजीनिक दल, नेता, बुद्धिजीवी, नागरिक समाजलगायत आमसचेत नागरिक वर्तमान संसदीय व्यवस्था र संविधानको विषयमा पुनर्विचार गर्नु पर्ने ठाउमा पुगेका छन । यस्तो अवस्थामा देश र जनतालाई वर्तमान राजनीतिक संकट पार लगाउने कार्यमा नेकपाको महत्वपूर्ण भूमिका हुने निश्चित छ । यही अवस्था र विषयलाई मध्य नजर गर्दै सो पार्टीले निर्वाचन आयोगमा दल दर्ताको लागि निबेदन पेस गरेको बताएको छ । देश र जनताप्रति उत्तरदायी भएर जनमत कै बलमा देश र जनताको मुक्ति गर्ने लक्ष्यसहित नेकपाले अगाडी सारेको यो कदम आफैमा स्वागत योग्य छ ।
संसदीय व्यवस्थावाट थंगगथिलो भएको देश र जनतालाई तन्दुरुस्त र शक्तिशाली बनाउने महान लक्षका साथ नेकपा अगाडी बढेको देखिन्छ । नेकपाको यस महान कार्यमा आमराजनीतिक दल, नेता, बुद्धिजीवी, नागरिक समाज लागायत आमस्वाभिमानी जनताले साथ र सहयोग गर्नुको विकल्प छैन । अन्यथा देश र जनताको भविष्य अन्धकारमय हुने निश्चित छ ।
