सच्चा देशभक्त र जनउत्तरदायी उम्मेदवारलाई मतदान गरौँ
यसै साता प्रतिनिधिसभा सदस्यको लागि मतदान हुँदैछ । निर्वाचन आयोगले निर्वाचनको लागि आवश्यक सम्पूर्ण तयारी पुरा भइ सकेको जनाएको छ भने निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारले प्रचार प्रसारलाई घनिभूत ढंगले अगाडि बढाई रहेका छन् ।
देशमा भएको चरम भ्रष्टाचार, नातावाद, आर्थिक गतिहीनता र राजनीतिक अस्थिरताप्रतिको गहिरो निराशाका बीच गत भदौ २३ गते जेन–जीको आन्दोलन सुरु भएको थियो । उक्त आन्दोलनमा ६ दर्जन भन्दा बढी होनहार युवाहरुले सहादत प्राप्त गरेका थिए भने सयौं युवाहरु घाइते भएका थिए । देशको अरबौ रुपैयाको सार्वजनिक र निजी सम्पति ध्वस्त भएको थियो । तर जेन–जीले उठाएको मागको कुनै सुनुवाई भएन, जेन–जीको आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भयो तर, समस्या ज्यूँ का त्यूँ रह्यो ।
यतिबेला, जेन–जीले उठाएको भ्रष्टाचारविरुद्ध र सुशासन कायमको प्रश्न अलपत्र परेको छ । जसका कारण जेन–जीको आन्दोलनको उपलब्धी सुन्य हुने देखिएको छ । जेन–जीले उठाएको कार्यकारी शासन प्रणाली, भ्रष्टाचार विरुद्ध र सुशासन कायम गर्ने आवाज सुशीला कार्कीको नेतृत्वमा सरकार गठनसँगै बन्द हुन् पुगेको छ । अब यही राज्य प्रणाली, संविधान र फागुन २१ गतेपछि व्यूँतने संघीय संसद्ले न जेन–जीको माग पुरा गर्नेछ, न नेपाली जनताको अपेक्षा नै पुरा गर्न सक्ने देखिन्छ । यही शासन प्रणाली, यही संविधान र यही संघीय संसदबाट देश र जनताको मुहार फेर्न सकिन्छ भन्नु र ठान्नु दिवास्वप्ना बाहेक केही हुन सक्दैन । तैपनि यो निर्वाचनले देश र जनताको विद्यमान् संकटको समाधान गर्न सकोस । आम जनताको चाहना यही छ ।
यो निर्वाचन विगतको जस्तो नभएर देश र जनताको भविष्य निर्धारण गर्ने निर्वाचन हो । तसर्थः यही साता हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कुनै पनि नयाँ र पुराना दलका भ्रष्ट र दलाल उम्मेदवारहरुलाई बहिष्कार गर्नु पर्छ । विगतका निर्वाचनमा जस्तै नयाँ र पुराना दलका भ्रष्ट र दलालहरुको ललिपपमा रमाए देशको अस्तित्व नै मेटिन सक्ने सम्भावना छ । त्यसकारण निर्वाचन आयोग मतदान कार्यलाई निष्पक्ष, धाँधलीरहित र भयरहित बनाउन सरकार गम्भीर बन्नुपर्छ भने आम मतदाताले कसैको दवाब र लोभलालचमा नपरी सच्चा क्रान्तिकारी, देशभक्त र जनउत्तरदायी उम्मेदवारलाई मतदान गर्नु पर्छ । अन्यथा देश र जनताले बिगतको जस्तो अर्को विद्रोहको सामना गर्नु पर्ने निश्चित छ ।
