पशुपति शर्माको ‘झोले त तै, झोले त मैं’ गीत सार्वजनिक

काठमाडौँ । गायक पशुपति शर्माले नयाँ गीत ‘झोले त तैं, झोले त मैं’ युट्युबमा सार्वजनिक गरेका छन् । गीतमार्फत उनले वर्तमान राजनीतिप्रति टिप्पणी गरे । ५ मिनेट लामो गीत विहिबार रिलिज भएपछि सामाजिक संजालमा यसको चर्चा सुरु भएको छ । मुलुकका प्रमुख राजनीतिक दल, शीर्ष नेताहरुलाई व्यंग्य गरिएको म्युजिक भिडियो ‘पशुपति शर्मा’ अफिसियल च्यानलबाट बिहीबार रिलिज गरिएको हो । गीतमा शर्माकै शब्द, स्वर, संगीत तथा अभिनय रहेको छ ।
पछिल्लो समय सत्तारुढ एमालेका नेताहरुले ‘म झोले हो’ भन्ने अभियान चलाएका थिए । उक्त सन्दर्भपछि शर्माले नयाँ गीत तयार पारेका हुन् । समसामयिक विषयवस्तुमा गीतमार्फत तीखो व्यंग्य गर्न सिपालु शर्माले ‘सबै पार्टी सही, खराब त तैं, खराब त मैं’ लगायत शब्द समेटेका छन् ।
उक्त गीतले सार्वजनिक भएको ७ घण्टाको अवधिमा १ लाख ३० हजारभन्दा बढी भ्यूज बटुलेको छ । करिब २ हजार जनाले कमेन्ट गरिसकेका छन् । उनका ‘लुट्न सके लुट कान्छा’, ‘तिम्रा नेता बिग्रिए जाग जनता’, ‘जनता नि चोर’, जस्ता व्यंग्यात्मकसहित विभिन्न लोक तथा दोहोरी गीत लोकप्रिय छन् ।