स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक
 काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी जेठ २३ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
कार्यतालिका अनुसार जेठ ९ गतेसम्म् स्ववियु निर्वाचन समितिको कार्यालयमा सङ्गठन दर्ता तथा जेठ १० गते मतदाता नामावली प्रकाशन गर्ने विश्वविद्यालय सूचना शाखाका प्रमुख भावना बज्राचार्यले जानकारी गराए।उनका अनुसार मतदाता सूचीमाथि दाबी विरोधसहित अन्तिम नामावली प्रकाशन जेठ १३ गते, उम्मेदवारका लागि मनोनयनपत्र वितरण जेठ १४ गते (प्रत्यक्ष र समानुमातिक दुवैको लागि), उम्मेदवारको मनोनयनपत्र प्रत्यक्षतर्फको र समानुमातिकतर्फको शिलबन्दी नामावली दाखिला एवम् प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन जेठ १६ गते, उम्मेदवारको नामावलीमाथि दाबी विरोध एवम् नामावली प्रकाशन जेठ १७ गते, उम्मेदवारको नाम फिर्ता एवम् अन्तिम नामावली प्रकाशन जेठ १९ गते र मतदान जेठ २३ गते हुनेछ । स्ववियु निर्वाचन विसं २०६५ यता हुन सकेको छैन । रासस

 
                 
                             
                             
                         
                         
                        