एसएलसीको नतिजा असारको पहिलो साता
भक्तपुर, १९ जेठ – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षाको नतिजा असारको पहिलो साताभित्रमा सार्वजनिक गर्ने गरी तयारी गरिरहेको बताएको  छ   । उत्तरपुस्तिका परीक्षण सकिएर सम्परीक्षणको काम भइरहेको परीक्षा नियन्त्रक खगराज बरालले जानकारी दिए  । त्यसमध्ये दुई वटा केन्द्रको मात्रै उत्तरपुस्तिका कार्यालयमा आउन बाँकी रहेको उनले बताए  ।  उनले भने “नतिजा सार्वजनिक गर्न तीव्र रुपमा काम भइरहेकोले प्राविधिक समस्या नआए असार पहिलो साताभित्रमा परीक्षाफल सार्वजनिक गर्नेछौँ ।”
 गत चैत १ देखि सुरु भई ९ गते सम्पन्न भएको ५८ वटा विषयको ७९औँ संस्करणको एसएलसी परीक्षामा पाँच लाख ४७ हजार एक सय ६५ जना परीक्षार्थी सहभागी भएका थिए । परीक्षार्थीको उत्तरपुस्तिका ६० केन्द्रमा परीक्षण भएको थियो ।यस पटकको एसएलसी परीक्षामा नियमिततर्फ चार लाख ३० हजार ९७  र पुनर्परीक्षा (एक्जाम्टेड)तर्फ एक लाख १७ हजार ६८ जना सहभागी भएका छन् । गत वर्ष जेठको ३१ गते नतिजा सार्वजनिक भएको थियो । 

 
                 
                             
                             
                         
                         
                        