शिक्षकलाइ अन्य पेशामा प्रतिबन्ध
काठमाडौं, जेठ २६ – सामुदायिक विद्यालयका शिक्षक अन्य व्यवसायमा लाग्न नपाउने नियमलाई सरकारले कडाइका साथ कार्यान्वयन गर्ने भएको छ ।सबै जिल्ला शिक्षा कार्यालयमा परिपत्र भइसकेकाले अब अनुगमन शुरु हुने शिक्षा विभागका निर्देशक टेकनारायण पाण्डेले जानकारी दिए ।
शिक्षकले शिक्षण पेशा बाहेक अरु व्यापार, व्यवसायमा लाग्न नपाउने गरी सरकारले नयाँ व्यवस्था गरेको हो ।
अरु पेशामा काम गर्न विभागीय स्वीकृत लिनुपर्नेमा धेरै शिक्षक उपभोक्ता समिति, वचत तथा ऋण सहकारी संस्था, गैरसरकारी संस्था, व्यापार तथा निर्माण व्यवसायमा लागेकाले यो प्रवृत्ति निरुत्साहित गर्न लागिएको पाण्डेले बताए ।नयाँ नियमले शिक्षकलाई अर्को विद्यालयको व्यवस्थापन समितिमा बस्न पनि प्रतिबन्ध लगाएको छ ।
अरु व्यापार व्यवसायमा लागेका शिक्षकलाई शुरुमा छोड्न निर्देशन दिने र पछि फेला परेमा कारबाही शिक्षा विभागले जनाएको छ ।सरकारले सामुदायिक विद्यालयका शिक्षकलाई राजनीतिक दलको सदस्यता लिन पनि प्रतिबन्ध लगाइसकेको छ ।