मेडिकल कलेजका सबै सेवा बन्द
चितवन , २७ जेठ- भरतपुरस्थित चितवन मेडिकल कलेजले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ ।उपचारका क्रममा सुत्केरीको मृत्यु भएको विषयलाई लिएर स्थानीयवासी र पीडितपक्ष तोडफोडमा उत्रिएपछि सुरक्षाको माग गर्दै अस्पतालका सेवाहरु बन्द गर्नुपरेको चितवन मेडिकल कलेजले जनाएको छ ।
आकस्मिक बाहेकका अन्य सेवाहरु बन्द गरिएपछि उपचारका लागि अस्पताल पुगेका बिरामीहरु मर्कामा परेका छन्न् भने कतिपय बिरामीहरु अर्को अस्पताल जान बाध्य भएका छन् । भरतपुर नगरपालिका–१२ बसन्तचोक निवासी २२ वर्षीया भवानी खतिवडा घिमिरेको उपचारका क्रममा मृत्यु भएपछि चिकित्सकको लापरबाही कारण उनको ज्यान गएको भन्दै पीडित पक्ष तोडफोडमा उत्रिएकाले हिजो दिनभर अस्पताल तनावग्रस्त बनेको थियो ।सोमबार पनि पीडित पक्ष र अस्पताल प्रशासनबीच भएको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ । वार्ता असफल भएपछि झडपको स्थिति बनेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको छ । अहिले अस्पतालमा प्रहरीको उपस्थिति बाक्लो छ । अस्पतालमा भएको तोडफोडको स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घ सङ्गठनले विरोध गरेका छन् ।
चितवनका सबै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र चिकित्सकले अस्पताल तोडफोडको विरोधमा आज हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् । नेपाल चिकित्सक सङ्घ चितवन, नेपाल नर्सिङ सङ्घ चितवन, नेपाल स्वाथ्यकर्मी युनियन, नेपाल स्वास्थ्यकर्मी सङ्घ र अखिल नेपाल प्रगतिकर्मी सङ्गठनले आज संयुक्त विज्ञप्ति जारी गरी घटनालाई कानुनी तबरबाट हल गर्नुको साटो तोडफोडमा उत्रनु दुःखद् भएको बताएका छन् ।