त्रिविले दूरशिक्षाका कार्यक्रम सञ्चालन गर्ने

२०७० श्रावण ८ गते, मंगलवार

काठमाडौं,त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायले यसै वर्षदेखि स्नातकोत्तर तहमा खुला तथा दूरशिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्रि बि ले परम्परागत र खुला तथा दूरशिक्षाका कार्यक्रम समन्वय गरी लैजानका लागि शिक्षाशास्त्र संकायले यसै वर्षदेखि स्नातकोत्तर तहको एमएड कार्यक्रम सञ्चालन गर्न लागेको बताइएको छ ।त्रिविका उपुलपति प्रा. डा. हीराबहादुर महर्जनका अनुसार कार्यक्रम सञ्चालनका लागि आवश्यक जनशक्तिलाई तालिम, आवश्यक प्रयोगशाला निर्माण, स्वअध्ययन सामग्री निर्माणका काम पूरा भइसकेका छन् । यस कार्यक्रमलाई नमुनाका लिइएको र थप विकास गरिने उपकुलपति महर्जनले बताए । उनले भने, ‘यो प्रोगाम त्रिवि उच्च शिक्षा तहमा विशेष नयाँ आयाम हुनेछ ।’शिक्षाशास्त्र संकायका डिन प्राध्यापक प्रकाशमान श्रेष्ठले त्रिविमा खुला तथा दूरशिक्षा अत्यावश्यक भएकाले यसै वर्षबाट सुरु गर्ने तयारी भएको बताए । गाउँ–गाउँबाट कक्षा ११ र १२ उत्तीर्ण भएपछि आर्थिक अभावले उच्च शिक्षाका लागि सहरमा आउन नसक्ने संख्या धेरै भएको तथा विद्यालय तहको पुनर्संरचना भएका कारण शिक्षाको योग्यता बढाउनुपर्ने आवश्यकता रहेकाले खुला तथा दूरशिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको डिन श्रेष्ठले बताए ।
विद्यालय क्षेत्र सुधार योजनाअनुसार कक्षा एकदेखि आठसम्म प्राथमिक र नौदेखि १२ सम्मलाई माध्यमिक तहमा विभाजन गरिएको छ । अब माध्यमिक तहमा अध्यापन गराउन पनि स्नातकोत्तर तह उत्तीर्ण गरेको शिक्षक चाहिन्छ । अहिलेसम्म कक्षा नौ र १० लाई माध्यमिक तह मानिएको छ ।डिन श्रेष्ठका अनुसार यस वर्ष तीन वटा विषय स्वास्थ्य, नेपाली र पाठ्यक्रम तथा मूल्यांकनबाट कार्यक्रम सुरु गरिनेछ । कार्यक्रम सञ्चालनका लागि ६ वटा क्याम्पस छनोट भइसकेका छन् । पूर्वाञ्चलका लागि सिराहाको सत्यनारायण सूर्यनारायण, मध्यमाञ्चलको सानोठिमी क्याम्पस, पश्चिमको बुटवल तथा गोरखा क्याम्पस, मध्यपश्चिमाञ्चलको सुर्खेत क्याम्पस र सुदूरपश्चिमाञ्चलको डडेल्धुरा क्याम्पस छनोट भएका छन् ।डिन श्रेष्ठले त्रिविमा खुला तथा दूरशिक्षाको कार्यक्रम नहुँदा नियमित विद्यार्थीजस्तै क्याम्पसमा भर्ना हुने तर नियमित क्याम्पस गएर पढ्न नसक्दा उत्तीर्ण प्रतिशतसमेत न्यून भएको दाबी गरे । उनले भने, ‘अहिले नियमित क्याम्पस जान नसक्ने पनि भर्ना हुनुपरेको छ । अनि, परीक्षामा धेरै फेल हुन्छन् ।’ खुला शिक्षाको कार्यक्रम आएपछि उत्तीर्ण प्रतिशत धेरै हुने उनको तर्क छ । खुला शिक्षा सेमेस्टर प्रणालीमा सञ्चालन हुने र नतिजासमेत एक/डेढ महिनामा प्रकाशित हुने जनाइएको छ ।
खुला तथा दूरशिक्षा अनलाइन, मोबाइल, डिजिटल सामग्री तथा हार्डकपीबाट उपलब्ध गराएर सञ्चालन गर्ने तयारी भएको छ । यस्तो शिक्षा प्रदान गर्न फिनल्यान्डबाट विज्ञ आएर विभिन्न क्याम्पसका ६२ प्राध्यापकलाई पहिलो चरणको तालिम दिइसकेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार