टाइफाइड नियन्त्रण गर्न खोप कार्यक्रम
काठमाडौं, १५ साउन – काठमाडौं र बाहिरी जिल्लामा टाइफाइड नियन्त्रण कार्यक्रम अन्तर्गत खोप कार्यक्रम सञ्चालन गर्न आवश्यक तयारी भइरहेको बताइएको छ ।भक्तपुर र ललितपुरमा दुई वर्षअघि विद्यालय केन्द्रित पहिलो चरणको खोप कार्यक्रम सञ्चालन गरिएको थियो ।खोपको प्रभावकारिता अवधि तीन वर्ष हुने भएकाले त्यसको प्रभावकारीताबारे अध्ययन गर्ने र अरु ठाउँमा पनि खोप कार्यक्रम सञ्चालन गर्नेबारे छलफल भइरहेको टाइफाइइड विरुद्धको खोप कार्यक्रमका व्यवस्थापक तथा मित्र समाजका अनुसन्धान संयोजक सञ्जय ढकालले जानकारी दिए ।मित्र समाजले दुई वर्षअघि बालस्वास्थ्य महाशाखासँगको समन्वयमा विद्यालयहरुमा खोप कार्यक्रम सञ्चालन गरेको थियो । टाइफाइड विरुद्धको खोप महँगो हुने र निःशुल्क उपलब्ध गराउनुपर्ने भएकाले त्यसका लागि सहयोग जुटाउने र नीतिगत तहमा छलफल भइरहेको उनको भनाइ छ ।
अहिले सरकारी अस्पतालहरुमा टाइफाइड विरुद्धको खोपको ८ सय देखि १ हजार तथा नीजि अस्पतालमा १५ सय देखि २ हजार सम्म शुल्क लाग्ने गरेको छ ।
ग्रामिण क्षेत्रका बासिन्दा अवसरको खोजीमा शहर पस्ने गरेकाले बढ्दो जनघनत्व, शुद्ध खानेपानीको अभाव लगायतका कारण काठमाडौंमा टाइफाइडको जोखिम बढी रहेकाले काठमाडौं केन्द्रित खोप कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको बालस्वास्थ्य महाशाखाले जनाएको छ ।काठमाडौं उपत्यका विश्वकै टाइफाइडको उच्च जोखिम रहेका ठाउँ मध्य पर्छ । पानीजन्य रोगका रुपमा चिनिने टाइफाईडको बढी प्रभाव १५ वर्ष भन्दा कमका बालबालिकामा देखिने गरेको छ । वर्षाको समयमा यसको बढी जोखिम हुने भएकाले सचेत रहन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।