सल्यानमा टेलिमेडिसिन सेवा
सल्यान ,१४ साउन।सल्यान जिल्ला अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालन गरिएको छ । उक्त सेवा सञ्चालनबाट बिरामीले सल्यानमा नै बसेर पाटन अस्पतालका रोग विशेषज्ञसँग सल्लाह-सुझावका साथै उपचार गर्न पाउने भएका छन् ।आर्थिक अवस्था कमजोर भएकाहरूका लागि उपचार सजिलो होस् भनी इन्टरनेटमार्फत अस्पतालले टेलिमेडिसिन सेवा सञ्चालन गरेको हो ।टेलिमेडिसिन सेवाअन्तर्गत बिरामीले आफ्ना समस्याबारे सोधपुछ गर्नुका साथै पुरानो रिपोर्टसमेत देखाउन पाउने भएका छन् । “त्यति मात्र नभएर रोग विशेषज्ञलाई खोजी गर्दै हिँड्न नपर्ने भएको छ”-जिल्ला अस्पतालका प्रमुख रामराज पन्थीले भने -”डाक्टरले बिरामीलाई छुन मात्र पाउँदैनन् । बिरामीलाई छुन नपाए पनि उनले सिकाएका विधिअनुसार उपचार हुन्छ ।”
इन्टरनेटमार्फत सञ्चालन गरेको उक्त सेवाका लागि पाटन अस्पतालका रोग विशेषज्ञ कम्प्युटरमा प्रत्यक्ष देखिन्छन् र बिरामी पनि । दुवैको प्रत्यक्ष कुराकानी हुन्छ । सो सेवा सञ्चालन गरेपछि बिरामीको उपचारमा सँगै बसेका डाक्टरलाई पनि सजिलो भएको छ । “विशेषज्ञकै सल्लाहबमोजिम डाक्टरले पनि काम गर्छन्”- उन ले बताए । स्वास्थ्यकर्मी रवीन्द्र विष्टले उक्त सेवाले जिल्लावासीलाई धेरै राहत हुने बताए ।रकम खर्च गर्न नसक्दा उपचारबाट वञ्चित भई अकालमा ज्यान गुमाएका धेरै छन् । यसबाट आर्थिक अवस्था कमजोर भएकालाई पनि धेरै राहत हुने उनको भनाइ छ । “जिल्ला अस्पतालबाट पाउन नसक्ने सेवाका लागि मात्र बिरामीले अब बाहिर जानुपर्ने हुन्छ”- उनले भने -”यो सेवाले धेरै प्रभाव पार्ने देखिएको छ ।”