अस्थायी शिक्षकको अल्टिमेटम
काठमाडौं, २२ भदौ ।लामो समयदेखि आन्दोलन गरिरहेको अस्थायी शिक्षक संघर्ष समितिले छ बुँदे माग राख्दै माग पुरा गर्न सरकारलाई १० दिने अल्टिमेटम दिएको छ ।समितिले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बार्ता र संबादको माध्यमबाट आफूहरुले अगाडि सारेको माग संबोधन गर्न बारम्बार आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेको भन्दै १० दिने अल्टिमेटम दिएको हो ।समितिले आगामि भदौ ३१ गतेसम्म आफूहरुले अघि सारेको माग पुरा नभए असोज ३ गते देखि ७५ वटै जिल्लामा रहेका जिल्ला शिक्षा कार्यालयहरुमा अनिश्चित कालिन तालबन्दी गरेर धर्ना दिने चेतावनी दिएको छ ।
संघर्ष समितिले शिक्षा सेवा आयोगले लिएको खुल्ला परिक्षाको नतिजा स्थगित गरेर अस्थायी र करार शिक्षकहरुलाई प्रतिष्पर्घा गराएर प्रकाशित गर्नु पर्ने, जागिरमा कायम राखिनुपर्ने, अब अस्थायी शिक्षक नहुने शिक्षा नियमावली संसोधन गर्नुपर्ने, शिक्षकहरुलाई पोशाक भत्ताको ब्यवस्था गर्नु पर्ने, शिक्षा सेवा आयोगलाई संबैधानिक आयोग बनाईनु पर्ने लगायतका माग अघि सार्दै आन्दोलन गरिरहेको छ ।