होस पुर्याउ है ,आँखाको ज्योति गुम्ला

२०७० आश्विन ९ गते, बुधबार

काठमाडौं, असोज ९ – विज्ञहरुले सेतो पुतलीको सम्पर्कबाट लाग्ने सापुको संक्रमण विशेष गरी १० वर्ष मूनिका बालबालिकामा देखिने भएकाले सावधानी अपनाउन सुझाव दिएका छन् ।केटाकेटीमा आँखा दुखेको लक्षण देखिए सामान्य रुपमा नलिई बेलैमा विशेषज्ञलाई देखाए दृष्टि गुम्नबाट जोगाउन सकिने उनीहरुको भनाइ छ । सबै उमेरका मानिसलाई लाग्न सक्ने भएपनि केटाकेटीमा बढी हुने यस्तो संक्रमण विशेष गरी यो सिजनका दुई महिनामा मात्रै बढी देखिने अनुमान गरिएको छ ।आँखा विशेषज्ञ डाक्टर मोहनराज बज्राचार्यका अनुसार यस्तो संक्रमण सरुवा हुँदैन र संक्रमण खास गरी एउटा आँखामा मात्रै देखिने गर्छ । आँखा रातो हुने, सुन्निने, आँखा खोल्न कठिन हुने, धमिलो देखिने या नदेखिने, एकदमै दुख्ने र ज्वरो आएर छटपटिन थाले तत्काल अस्पताल लैजान सके आँखा जोगाउन सकिने डाक्टर बज्राचार्यले जानकारी दिए ।आँखा दुख्ने समस्याको तत्काल उपचार नभए आँखामा पिप भरिने, आँखाको पर्दा, नसा हुँदै रेटिना सम्ममा असर गर्ने र आँखा सुक्दै जाने उनले बताए । ४८ घण्टादेखि तिन दिन भित्रमा संक्रमण देखिने देखि लिएर दृष्टि पुरै गुम्ने भएकाले आँखा दुख्ने बित्तिकै उपचारका लागि लैजानुपर्ने उनको भनाइ छ ।
रोग लागिसकेपछि आँखामा जमेको पिप निकाल्न शल्यक्रिया गर्नुपर्ने भएपनि सबै अस्पतालहरुमा यसको उपचार सम्भव नभएकाले शंका लाग्ने बित्तिकै सुविधा सम्पन्न अस्पतालहरुमा लैजान डाक्टर बज्राचार्यले अभिभावकलाई सुझाव दिएका छन ।संक्रमण हुनै नदिनका लागि सरसफाईमा विशेष ध्यान दिन, किराफट्यांग्राको सम्पर्कबाट जोगिन र आँखा दुखेको बेला लापरवाही नगर्न उनीहरुले आग्रह गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]