रक्त क्यान्सरको रोगी बढ्दै
ललितपुर, २१ असोज । नेपालमा हाल रक्त क्यान्सरका रोगीको सङ्ख्या करिब १० हजार रहेको ब्लड क्यान्सर सोसाइटी नेपालले जनाएको छ । सो सङ्ख्या सन् २००१ देखि हालसम्मको हो । खासगरी चुरोट, सूर्तीजन्य पदार्थ र मदिरालगायतको सेवन, सूर्यको प्रकाश वा विभिन्न विकीरणको प्रत्यक्ष सम्पर्क, सन्तुलित भोजन तथा व्यायाममा कमी हुँदा रक्त क्यान्सरका रोगी बढेको सोसाइटीका अध्यक्ष विष्णुप्रसाद पौडेलले बताए ।सोसाइटीका अनुसार नेपालमा रक्त क्यान्सरका रोगीको उपचार गर्ने अस्पतालको कमी रहेको र सुविधा भएका अस्पतालहरू पनि सहर बजारमा मात्र केन्द्रित भएकाले रोगको निदान र बिरामीको उपचारमा समस्या रहेको छ । दैनिकजस्तै रोगीको सङ्ख्या बढ्दै गए पनि सरकारले यस विषयमा खासै चासो नदेखाएको सोसाइटीका अध्यक्ष पौडेल बताउछन् ।उनका अनुसार करिब दुई वर्षअघिबाट सरकारले एक क्यान्सर रोगी बराबर रु ५० हजार उपचार खर्च उपलब्ध गराउँदै आएको भए पनि त्यति पैसाले क्यान्सर रोगीलाई एक महिनाको औषधि किन्नसमेत नपुग्ने सोसाइटीमा आबद्ध क्यान्सर रोगीहरूको गुनासो रहेको छ ।
हरेक वर्ष पाँचदेखि सातसयसम्म विभिन्न किसिमका क्यान्सर रोगीको मृत्यु हुने गरेको र सरकारले यस विषयमा चासो नदेखाएको सोसाइटीको भनाइ छ ।लामो समयदेखि क्यान्सर रोगको उपचार गर्दै आएका पाटन अस्पतालका डा ज्ञानकृष्ण कायस्थका अनुसार रोगीको सङ्ख्या यहीरूपमा बढ्दै जाने तर उपचारमा ध्यान नदिने हो भने यसले भयावह रूप लिन सक्छ ।