पूर्वमा डेंगु आतंक
काठमाडौं, ५ कात्तिक । नेपालको पुर्बी क्षेत्र पर्सा, झापा, बारालगायतका जिल्लामा डेंगु आतंक सुरु भएको छ । स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सोमबारसम्म पर्सामा ८२, झापामा पाँच र बारामा एकजनामा यसको संक्रमण देखिएको छ ।अकस्मात डेंगुको संक्रमण बढ्नुमा भारतमा रहेका नेपाली स्वदेश फर्कनुलाई लिइएको छ । दसैं–तिहारका कारण भारतमा रहेका अधिकांश नेपाली स्वदेश फर्केसँगै संक्रमण बढेको महाशाखाले जनाएको छ । महाशाखा निर्देशक डा।जीडी ठाकुरले भारतलगायत नेपालका खुला सीमा जोडिएका ठाउँमा डेंगुका बिरामी बढी देखिएको बताए ।
‘भारतसँग खुला सीमा भएका पर्सा, झापा, बारालगायतका जिल्लामा डेंगुको संक्रमण बढेको छ,’ उनले राजधानीसँग भने, ‘छिटफुट रूपमा स्थानीयमा पनि रोगको संक्रमण देखिएको छ ।’ वीरगन्ज र मेचीनगर नगरपालिकासँग मिली टोल–टोलमा मालाथिन पाउडर छर्कने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम जारी रहेको ठाकुरले बताए ।लामखुट्टेको टोकाइबाट सर्ने संक्रमक रोग डेंगु असोजदेखि मंसिरसम्म बढी देखिने गर्छ । पोथी जातको डेंगु संक्रमित एडिस एजिप्टाई लामखुट्टेले मानिसलाई टोके डेगुं ज्वरो आउने गर्दछ । यो प्रजातिको लामखुट्टेले दिउँसो मात्र मानिसलाई टोक्ने गर्दछ ।