मेरी स्टोप्समा धर्ना
काठमाडौं, १४ कात्तिक ।नेपालमा प्रजनन स्वास्थ्यको क्षेत्रमा कार्यरत सुनौलो परिवार नेपाल मेरी स्टोप्समा कार्यरत कर्मचारी विभिन्न माग राख्दै धर्नामा बसेका छन्।२० वर्ष अवधिमा नेपाली महिलाको प्रजनन स्वास्थ्यमा ठूलो परिवर्तन ल्याउन भूमिका खेले पनि भित्री व्यवस्थापन कमजोर भएको र कर्मचारीमा विभेद गरिएको भन्दै आन्दोलन घोषणा गरिएको विज्ञप्तिमा जनाइएको छ। संस्थामा व्यवस्थापकीय कमजोरी तथा लापरबाहीका कारण सेवा सञ्चालनमा केही अप्ठ्यारा देखिएका र जिम्मेवार व्यक्तिले चाहे सहजै समाधान हुन सक्ने तर समाधानमा चासो नदेखाइएको विज्ञप्तिमा जनाइएको छ।
काठमाडौंको केन्द्रीय कार्यालय बालुवाटरमा जम्मा भएर धर्नामा बसेका कर्मचारीले समस्या समाधानका लागि १० सूत्रीय माग राखेका छन्। उनीहरूले गैरनेपाली नेतृत्वको अक्षम उच्च व्यवस्थापन समूहको विघटन, खुला कानुनी पारदर्शितामा सक्षम व्यवस्थापकीय नेतृत्वको नियुक्ति, सञ्चालित सबै सेवा केन्द्रको निरन्तरताको सुनिश्चितता, कर्मचारीको रोजगारीको सुरक्षा, उच्च महँगी तथा लामो समयदेखि तलब वृद्धि नभएकाले कम्तीमा ३० प्रतिशत तलब वृद्धि, संस्थामा कार्यरत कर्मचारीले पाउने सेवासुविधाको न्यायोचित समायोजन हुनुपर्ने, कर्मचारीलाई धाकधम्की, त्रास आदि दिई मनोबल कम गर्ने कार्य अन्त्य हुनुपर्ने र त्यस्ता अराजक कार्य गर्नेलाई तत्काल आवश्यक कारबाही गर्नुपर्ने, संस्थाद्वारा सञ्चालित कार्यक्रमको आर्थिक पारदर्शिता हुनुपर्ने, लामो समयदेखि संस्थामा कार्यरत कर्मचारीलाई अवकाशका लागि बाध्य पार्ने र नयाँ नियुक्तिहरू गर्दै जाने प्रक्रियाको तत्काल अन्त्य हुनुपर्ने माग राखेका छन्।