त्रिविका झोले कलेज खारेज गरिने
काठमाडौं , १७ कार्तिक –सम्बन्धन लिएर पनि सञ्चालनमा नआएका उपत्यकाका २२ निजी कलेज खारेज गरिने भएको छ। त्रिभुवन विश्वविद्यालयका प्रध्यापक विष्णु मादेनको संयोजकत्वमा तीन महिनाअघि गठित अनुगमन समितिले काठमाडौं, ललितपुर र भक्तपुरका २ सय ४२ सम्बन्धनप्राप्त निजी कलेज अनुगमन गरेको थियो।अनुगमन समितिले बुझाएको प्रतिवेदनअनुसार उपत्यकाका तीन जिल्लामा २२ निजी कलेज योजना महासाखाको रेकर्डमा रहे पनि सञ्चालनमा नभेटिएको विश्वविद्यालय कार्यकारी परिषदका सचिव गोविन्द प्रधानले बताए।
विश्वविद्यालयको व्यवस्थापकीय तथा प्रशासनिक कमजोरीका कारण यस्ता झोले कलेज फेला परेको उनले उल्लेख गरे । ‘ती कलेजको सम्बन्धन खारेज गर्ने तयारीमा छौं,’ प्रधानले भने ‘डेढ दशक अघि सञ्चालन गर्न अनुमति लिएको यी २२ वटै झेले कलेजहरुको सम्भावता अध्ययन प्रतिवेदन नै लगत रहेको देखियो।’अनुगमन क्रममा तोकिएको स्थानमा जाँदा ती कलेजको कुनै भौतिक पूर्वाधार, विद्यार्थी तथा शिक्षक नभेटिएको समितिका संयोजक मादेनले बताए । अधिकांश कलेज मानविकी संकायका छन् । कतिपयले डेढ दशकअघि नै त्रिविसँग सम्बन्धन लिएको फेला परेको छ ।
मानविकी संकायका डिन चिन्तामणि पोखरेलका अनुसार विश्वविद्यालयसँग सम्बन्धन लिएपछि डिन कार्यालयले कलेज सञ्चालन योग्य रहे÷नरहेको अध्ययन गर्न सम्भाव्यता अध्ययन टोली पठाउँछ । टोलीले उचित ठहर्यानएको अवस्थामा मात्रै कलेज सञ्चालनमा आउँछ।त्रिविको अनुगमन र व्यवस्थापकीय कमजोरीकै कारण प्रभावकारी अनुगमन हुन नसकेको पोखरेलले बताए। ‘यस्ता कागजी कलेजहरूलाई निरुत्साहित गर्न समयसमयमा अनुगमन गरिनुपर्छ,’ उनले भने।