शिक्षक सेवाको नतिजा मंसिरको अन्तिममा आउने
काठमाडौं, ११ मंसिर- शिक्षक सेवा आयोगले स्थायी दरबन्दी पदपूर्तिका लागि गत जेठ महिनामा लिएको लिखित परीक्षाको नतिजा यसै महिनाको अन्तिम साता निकाल्ने तयारि गरेको जनाएको छ । गत जेठको दोस्रो साता लिइएको परीक्षाको नतिजा प्रकाशनमा निर्वाचनका कारण केही ढिलाइ भएको आयोगले जनाएको छ । आयोगका प्रशासन प्रमुख खगेन्द्र नेपालले आयोगले आवश्यक दरबन्दी भन्दा २० प्रतिशत बढी (करिब २० हजार) लिखित परीक्षामा उत्तीर्ण हुने बताएका छन् ।
नतिजा प्रकाशन पूर्व आयोगमा विभिन्न क्षेत्रबाट दबाब आउने गरेको आयोगका पदाधिकारीहरूले जानकारी गराए । त्यस्ता दबाबको बेवास्ता गर्दै निष्पक्ष तरिकाले परीक्षाको परीक्षाफल प्रकाशन गर्नै तयारी आयोगले गरेको छ । नेपालले भने, “दबाबको कुनै प्रवाह नगरी नतिजा निकल्ने तयारीमा जुटेका छौं ।”
आयोगले विज्ञापन गरेको १३ हजार ५९ जना शिक्षकका लागि ४ लाख ६९ हजार शिक्षकले परीक्षा दिएका छन् । विज्ञापन प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तह गरी ३ तहका शिक्षकका लागि विज्ञापन गरेको थियो । आयोगले कात्तिक अन्तिम साता नतिजा निकल्ने भने पनि चुनावका कारण नतिजा निकल्न ढिलाइ भएको आयोगले स्पष्ट पारेको छ । संविधानसभा चुनाव सम्पन्न भएकाले नतिजा निकल्ने तयारीमा जुटेको नेपालले जानकारी गराए । जेठ महिना लिएको परीक्षाको नतिजा निकालेपछि पुनः आवश्यक थप ४ हजार दरबन्दीका लागि फागुन महिनामा विज्ञापन गरिने भएको छ ।