त्रिविका सबै संकायमा सेमेस्टर प्रणाली लागुहने
काठमाडौं , २६ मंसिर । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने उद्देश्यले सेमेस्टर प्रणालीबाट पढाइ सञ्चालन गर्ने भएको छ । त्रिविले पहिलो चरणमा केन्द्रीय विभाग कीर्तिपुरमा मात्र सेमेस्टर प्रणाली लागू गर्न लागेको हो ।यसै वर्षदेखि मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, विज्ञान, कानुनलगायत सबै संकायमा सेमेस्टर प्रणाली लागू हुने त्रिविले जनाएको छ । त्रिविमा अहिले विभिन्न संकायअन्तर्गत ३८ ओटा विषयका केन्द्रीय विभाग छन् । तीमध्ये पत्रकारिता, कानुन, नेपाल भाषा, गृह विज्ञान, जनप्रशासन, खाद्यप्रविधि विषयको विभाग कीर्तिपुर बाहिर छन् । नयाँ व्यवस्थापन अनुसार यस वर्ष ३२ ओटा विभागमा मात्र सेमेस्टार प्रणालीबाट पढाइ हुनेछ ।
त्रिविले एकै विषयमा स्नातकोत्तर तहका लागि केन्द्रीय विभाग र अन्य क्याम्पसमा भर्ना हुने विद्यार्थीको पढाईमा दोहोरो मापदण्ड बनाएको राजधानी दैनिकमा खबर छ । केन्द्रीय क्याम्पस कीर्तिपुरमा पढ्नेले मात्र सेमेस्टर प्रणालीबाट पढ्न पाउँनेछन् भने त्रिविका अन्य आंगिक क्याम्पसमा पढ्नेले हालको पद्धतिबाटै पढ्नुपर्नेछ ।