अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलनको औपचारिक उद्घाटन हुँदै
काठमाडौं, २९ मंसिर – आठौं सार्कस्तरिय अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलनमा आज क्यान्सर लाग्ने कारण, यसको असर र समाधानको उपायका विषयमा बृहत् छलफल हुँदैछ ।काठमाडौंमा हिजोदेखि सम्मेलन सुरु भएपनि औपचारिक उद्घाटन आज हुँदैछ ।
आज क्यान्सर रोकथामका लागि गर्न सकिने प्रयास, सार्क मुलुकहरुमा, स्थानीय वातावरणमा क्यान्सरमा आइपर्ने समस्याको भिन्नता, समाधानका उपायहरु, बिरामीलाई उत्कृष्ट सेवा दिने जस्ता विषयमा विज्ञहरुबीच विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको वरिष्ठ क्यान्सर विशेषज्ञ तथा सम्मेलनका वैज्ञानिक समितीका प्रमुख डा सुदीप श्रेष्ठले जानकारी दिए ।यस्तै क्यान्सर सम्बन्धि शोधपत्र प्रस्तुत गरी छलफल हुने तथा कनिष्ठ डाक्टरका लागि क्यान्सर रोकथाम र उपचारका लागि हुनुपर्ने ज्ञान र सीपका विषयमा कार्यशाला पनि हुनेछ । आइतबार क्यान्सर रोग लागेर उपचारपछि निको भएका र उपचार भईरहेका बिरामीहरुको अनुभव साटासाटको कार्यक्रम रहेको श्रेष्ठले बताए ।
सार्क फेडेरेसन अफ अंकोलोजिस्ट नेपालको आयोजनामा सुरु भएको सम्मेलनमा सार्क राष्ट्रका झण्डै ५ सय प्रतिनिधिको सहभागीता रहेको छ । सम्मेलन भोलि आइतबार सकिनेछ ।