मापदण्डविपरीतका आधा दर्जन अस्पतालमा ताला

२०७० पुष ३ गते, बुधबार


काठमाडौं, पुस ३ – चितवन जिल्ला प्रशासन र जनस्वास्थ्यको सक्रियतामा बारम्बार पत्र पठाएर बन्द गर्न सुझाव दिए पनि अटेर गर्ने आधा दर्जन अस्पतालमा ताला लगाइएको छ । नियम पूरा नगरी अस्पताल खोलेर बिरामीको स्वास्थ्यमाथि खेलबाड गरिएकोभन्दै ति अस्पतालमा ताला लगाइएको हो । मापदण्डविपरीत सञ्चालित अस्पताल बन्द गर्न भन्दै प्रशासनले ३ दिनको समय दिएर साताअघि पत्र पठाएको थियो । उक्त समयमा पत्रको अवज्ञा गर्दै सटर बन्द गरेर बिरामीको चेकजाँचलाई निरन्तरता दिएपछि प्रशासनले प्रहरी सक्रिय गराएर ताला लगाएको हो ।
जिल्ला प्रशासन र जनस्वास्थ्यका कर्मचारीले मापदण्डविपरीत खोलिएका अस्पताल बन्द गर्न सोही स्थानमै पुगेर जानकारीसमेत गराएका थिए । अस्पताल सञ्चालकले सूचनालाई बेवास्था गर्दै बिरामी जाँचलाई निरन्तरता दिइरहे । ‘बारम्बार सूचना जारी गर्दासमेत अस्पतालले अटेर गरे,’ प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले भने, ‘त्यसैले अटेर गर्नेलाई तालाबन्दी गरेका हौं ।’ उनले नियम पूरा नगरेसम्म सञ्चालनमा नआउने बताए ।
मापदण्डविपरीत सञ्चालित अस्पतालमा भरतपुर चौबिसकोठीको चितवन ओम अस्पताल, माता मनकामना आरोग्य केन्द्र, एडभान्स सामुदायिक अस्पताल, ओसिस मेडिकल कलेज र नेपाल अस्पताल छन् । खैरहनीमा रहेको परोपकार अस्पतालसमेत दर्ताबिनै चलाएको पाइएको छ । नेपाल अस्पताल यसअघि नै बन्द भइसकेको थियो भने माता मनकामना आरोग्य केन्द्रले अस्थायी स्वीकृति लिएर सञ्चालनमा छ ।
चितवन ओम अस्पतालले ०५९ मा सञ्चालन स्वीकृति पाए भए पनि ११ वर्षदेखि नवीकरण गरेको छैन । प्रशासनले अस्पताल बन्द गर्न सूचना पठाएपछि यसले पुरानो नाम मेटेर ओम डायग्नोस्टिक सेन्टर राखेको थियो । बन्द गर्न सूचना पठाउँदा उक्त अस्पतालले भित्री रूपमा चिकित्सकको उपस्थितिमा बिरामी जाँचलाई निरन्तरता दिएको थियो । उता ओसिस मेडिकल कलेजका सञ्चालक मनोज चौधरी चिकित्सक भए/नभएबारे उनको प्रमाणपत्र छानबिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत चिकित्सा सेवा महाशाखा काठमाडौंले जनस्वास्थ्य र प्रशासनलाई भनेको छ ।
उक्त कलेजमा चिकित्सक नभएका, अनमिमात्र भएको र स्वास्थ्य सेवा नभएको भन्दै बन्द गर्न प्रशासनलाई भनिएपछि ताला लगाएको हो । ‘चौधरी चिकित्सक नभएकामा शंका छ,’ प्रजिअ शर्माले भने, ‘त्यसैले उनको शैक्षिक प्रमाणपत्र छानबिन हुँदैछ, नक्कली भए कारबाही हुन्छ ।’ प्रशासनको लामो प्रयासपछि नियम मिच्ने अस्पतालमा ताला लगाएको हो ।
उता जनस्वास्थ्य प्रमुख केहरसिंह गोदारले नियम पालना नगरेकाले अस्पतालमा तालाबन्दी गरिएको बताए । यहाँ पछिल्लो समय अस्पताल खोल्ने क्रम बढेको छ । चिकित्सकका लागि अस्पताल पैसा कमाउने स्रोत बन्दै गएको छ । तर नियम पालना गर्ने अस्पताल कम छन् । सरकारी अस्पतालमा काम गर्ने चिकित्सक नै मापदण्डविपरीत सञ्चालित अस्पतालमा काम गर्छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार