‘त्रिवि’ शुल्क दोब्बर बढाउने दाउमा

२०७० पुष ८ गते, सोमबार

काठमाडौ, ८ पुस – त्रिभुवन विश्वविद्यालयले बिद्यार्थी शुल्कमा भारी वृद्धि गर्ने तयारी गरेको बुझिएको छ ।वार्षिक शिक्षा प्रणाली विस्थापन गरी सेमेस्टर प्रणालीमा लैजाने तयारी गरेलगत्तै त्रिविले शुल्क बढाउन लागेको हो । त्रिविअन्तर्गतका आंगिक क्याम्पसमा स्नातक तहको शुल्क मासिक २ देखि ३ सय रुपैयाँ छ । त्यस्तै स्नातकोत्तर तह पढ्नेले ३ देखि ४ सय रुपैयाँ तिर्नुपर्छ । तर, त्रिविले यो वर्षदेखि स्नातकोत्तर तहका सबै विषय सेमेस्टर प्रणालीमा लैजाने तयारी गरेको छ ।
त्रिवि शिक्षा संकायका डिन प्रकाशमान श्रेष्ठले सेमेस्टर प्रणाली लागु गर्न लागिएको जानकारी दिँदै स्वभाविक रूपमा खर्च बढ्ने बताए । पुरानै शुल्कमा अध्यापन गराउन नसकिने अवस्था आएकाले शुल्क बढाउनु परेको उनको भनाइ छ । “कति शुल्क बढाउने निर्णय भइसकेको छैन । यो विषय छलफलकै क्रममा छ,” श्रेष्ठले भने । त्रिविले स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागु गरेका केही विषयमा १ लाख ५० हजारदेखि ५ लाख रुपैयाँसम्म शुल्क लिँदै आएको कारोबारले छापेको छ । वार्षिक परीक्षा प्रणालीअन्तर्गत त्रिविमा अध्ययनरत विद्यार्थीले स्नातकोत्तर तह अध्ययन गर्दा ८ देखि ५० हजार रुपैयाँमात्र तिरिरहेका छन् । त्रिवि सेमेस्टर प्रणालीको शुल्क तथा पुरानो वार्षिक शुल्कलाई आधार मान्दा दोब्बरभन्दा पनि बढी शुल्क बढ्ने अनुमान त्रिवि पदाधिकारीको छ । त्रिवि व्यवस्थापन संकायका डिन देवराज अधिकारीले पहिलोपटक सेमेस्टर प्रणाली सुरु गर्दा जनशक्तिसहित सबै नयाँ हुने भएकाले यो प्रणालीको शिक्षा केही महँगो हुने प्रस्ट्याए ।
त्रिविअन्तर्गतका ३८ विभागमध्ये किर्तिपुरमा २७ वटा विभाग छन् । बाँकी विभाग उपत्यका तथा उपत्यकाकाहिरका जिल्लामा छन् । त्रिविका शिक्षाध्यक्ष गुणनीधि न्यौपानेले किर्तिपुरमा रहेका सबै विभागलाई अनिवार्य रूपमा सेमेस्टर प्रणालीमा लैजाने तयारी भइरहेको जानकारी गराए । “त्रिविमा रहेका सबै विभागले यो प्रणाली लागु गर्ने भएका छन्,” उनले भने । किर्तिपुरबाहिर रहेका विषयगत विभागहरूले सेमेस्टर प्रणालीमा जाने÷नजाने भन्ने निर्णय नभएको उनले जानकारी गराए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार