झोले विद्यालयको विगविगी
रौतहट,११ पौष । रौतहटको संग्रामपुर, हथियाई, कटहरिया, भसेढवा लगायतका गाउंहरुमा कयौं झोले विद्यालयहरु संचालनमा रहेको पाईएको छ । जिल्लाको विभिन्न गाबिसमा सानो फुसको छाना भएको घरमा बिद्यालयको बोर्ड झुण्डाएर नाम मात्रका एक सय भन्दा बढी झोले बिद्यालयहरु संचालन भैरहेका छन् । यस्ता विद्यालयहरुले विद्यार्थीहरुको दीर्घकालीन पढाईमा असर गर्ने हुंदा यी विद्यालयहरु तत्काल खारेज गर्नुपर्ने माग स्थानीयबासीले गरेका छन् ।
केही बिद्यालयमा १० जना सम्म बिद्यार्थी अध्यापन गराउने १-२ जना शिक्षक भेटिएका छन् भने केही बिद्यालयमा कहिल्यै पढाई नभएको स्थानीयबासिन्दाहरु बताउंछन् । स्थानीय दलका केही नेता, शिक्षक संघसंगठनका केही पदाधिकारी र गाँउका अगुवाहरुले आफन्तलाई जागिर दिने उद्देश्यले नाम मात्रको बिद्यालय खोल्ने गरेको पाइएको हो ।
विद्यालय खारेजीका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय लगायतका ठाउंमा उजुरी दर्ता गरिएपनि कारबाही प्रक्रिया अघि बढाइएको छैन् । जिल्ला प्रशासन कार्यालयले भने बिद्यालयको छानबिन भैरहेको र १९ वटा बिद्यालयको खाता संचालन रोक्का गरिएको जनाएको छ ।