किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा लागु हुदै
काठमाडौं, १२पुस – किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य सेवा दिने उद्धेश्यले शुरु गरिएको किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा आगामी २ वर्ष भित्र ७५ वटै जिल्लामा विस्तार गरिने भएको छ ।अहिले सम्म ४९ जिल्लाका साँढे ७ सय स्वास्थ्य संस्थामा सेवा सञ्चालन भएको छ ।यो वर्ष भित्र ५० वटा जिल्लामा सेवा विस्तार गरिसक्ने र दुई वर्ष भित्र देशका सबै जिल्लामा सेवा पुर्याइने परिवार स्वास्थ्य महाशाखाले जनाएको छ ।
२०१५ सम्ममा १ हजार स्वास्थ्य संस्थामा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा दिने लक्ष्य भएपनि यो वर्ष भित्रमै ११ सय भन्दा बढी स्वास्थ्य संस्थामा विस्तार भईसक्ने महाशाखा अन्तर्गत परिवार नियोजन शाखा प्रमुख भोगेन्द्रराज डोटेलले जानकारी दिए ।स्वास्थ्य संस्थाहरुमा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सुरु भएपछि उनीहरु खुलेर आफ्ना समस्या भन्न थालेको र स्वास्थ्यकर्मीको व्यवहारमा पनि परिवर्तन आएको पाईएको डोटेलले बताए ।
त्यस्तो सेवा दिने स्वास्थ्यकर्मीहरुलाई किशोरकिशोरीहरु सेवा लिन आउँदा उनीहरुका कुरा ध्यान पुर्वक सुन्न, समस्या समाधानमा सहयोग गर्न र समग्र भूमिका कस्तो हुनुपर्छ भन्ने जस्ता कुरामा तालिम दिने गरिएको छ ।
यस्तै सूचना र आपसी छलफलको माध्यमबाट किशोरकिशोरीहरुले आफूमा भएको समस्या समाधानको प्रयास गर्न सक्ने भएकाले विद्यालयमा केन्द्रित रहेर किशोर किशोरी सूचना केन्द्र स्थापनामा जोड दिइएको डोटेलले बताए ।