अब विद्यार्थीले स्वयंसेवा गर्नैपर्ने
काठमाडौं,१३ पुस । अबदेखि विद्यार्थीले अनिवार्य रुपमा स्वयंसेवा गर्नुपर्ने व्यवस्था गर्न लागिएको छ । शिक्षा मन्त्रालय उच्च माध्यमिक, स्नातक र स्नातकोत्तर तह अध्ययन गरिसकेपछि विद्यार्थीलाई अनिवार्य रुपमा सेवा गर्नुपर्ने कार्यविधि तयारमा लागेको छ ।कुनै तहमा अध्ययन गरेर उत्तीर्ण भइसकेपछि ‘डिग्री अवार्ड’ लिन कस्तो सेवा गर्नुपर्ने भन्ने कार्यविधि निर्माण गर्न शिक्षा मन्त्रालयले समितिसमेत गठन गरिसकेको छ । काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा राष्ट्रिय शिक्षा स्वयंसेवा सम्बन्धी कार्यविधि बनाउन समिति गठन भएको हो ।
समितिमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयलगायतका प्रतिनिधि छन् । आगामी शैक्षिक सत्रबाट कुनै न कुनै तहबाट अनिवार्य सेवा गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा लगिने गरी कार्याविधि निर्माणको काम समितिले गरिरहेको छ ।
नेपालको शिक्षा व्यावहारिक र जीवनोपयोगी नभएको आलोचना भएपछि एउटा तह सकेका विद्यार्थीलाई व्यावहारिक र अनुभवि बनाउन शिक्षामन्त्रालयको पहलमा अनिवार्य सेवा गर्नुपर्ने प्रावधान लागू गर्न लागिएको हो ।