क्षयरोगको औषधि निस्प्रभाबी बन्दै
काठमाडौ, १६ पुस – चिकित्सकको प्रत्यक्ष निगरानीमा औषधि सेवन गर्ने डट्स बिधि लागू भएपनि स्वास्थ्य संस्थामा जान हेलचेक्र्याईं गर्दा कडा खालका क्षयरोगीको संख्या बढेको क्षयरोग निवारण संस्थाले जनाएको छ ।यस्तै कुनै पनि औषधिले नछुने क्षयरोगी पनि पहिलेको तुलनामा देखापर्न थालेका छन् । क्षयरोगको नियमित उपचारमा प्रयोग हुने औषधि पचाउने खालका बिरामी देखिनु चिन्ताको विषय भन्दै संस्थाका अध्यक्ष देवेन्द्रबहादुर प्रधानले रोग र औषधि सम्बन्धि जनचेतना अत्यावश्यक भएको बताए ।औषधि सेवनमा बिरामीले नै वास्ता नगर्नु, औषधिको गुणस्तर नहुनु र स्वास्थ्यकर्मीकै लापरवाहीका कारण औषधि नियमित नखाँदा रोग अझै कडा बन्दै जाने चिकित्सकको भनाई छ ।
क्षयरोग औषधि अनियमित हुने बित्तिकै किटाणुको औषधि पचाउन सक्ने क्षमता बढ्ने भएकाले जटिल अवस्था सिर्जना नहोस् भन्नका लागि स्थानीय स्वास्थ्यकर्मी, संघसंस्था लगायतले बिरामीलाई अभिप्रेरित गर्ने खालका सचेतना मूलक कार्यक्रम गर्नुपर्नेमा क्षयरोग निवारण संस्थाको जोड छ ।
स्वास्थ्य संस्था सम्मको दूरीका कारण समस्या पर्ने अवस्थामा गाउँठाउँमै विश्वासिलो समूहको अगाडि बसेर बिरामीले औषधि निलेको पुष्टि हुने गरी कार्यक्रम पनि शुरु भएका छन् ।सामान्य खालको क्षयरोगको उपचार नियमित ६ देखि ८ महिना हुने भएपनि कडा खालको क्षयरोगको औषधि लगातार २४ महिना या त्यो भन्दा बढी खानुपर्छ ।