क्षयरोगीका आवास गृह बन्द नहुने
काठमाडौं, १ माघ – नेपाल क्षयरोग निवारण संस्थाले जटिल प्रकृतिका क्षयरोगीका लागि सञ्चालन गरेको आवासगृह तत्काल बन्द नहुने भएको छ ।
ग्लोबल फन्डको रकम नपाएपछि संस्थाले काठमाडौंको कालिमाटी र विराटनगरमा सन्चालित आवासगृह बुधबारदेखि बन्द गर्ने तयारी गरेको थियो । तर राष्ट्रिय क्षयरोग केन्द्रले सहयोगलाई निरन्तरता दिने भन्दै सेवा सञ्चालन नरोक्न पत्राचार गरेकाले आवासगृह थप एक महिना नियमीत सञ्चालन गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष देबेन्द्रबहादुर प्रधानले जानकारी दिनुभयो ।
यो अवधिमा थप रकम आउने श्रोत नजुटे आवासगृह बन्द गर्न बाध्य हुने उहाँको भनाइ छ । संस्थाले सञ्चालन गरेको आवास गृहमा अहिले काठमाडौंमा १० र विराटनगरमा १० जना गरी २० जना जटिल प्रकृतिका क्षयरोगी छन् ।
उनीहरुको औषधि उपचार, खाना, बसोबास, आवासगृहमा खटिने विशेषज्ञ चिकित्सक सहितका स्वास्थ्यकर्मी र कर्मचारीको सबै खर्च सरकारले ब्यहोर्दै आएको छ । जटिल खालका क्षयरोगीको उपचारमा समय लाग्ने र त्यस्ता एक जना क्षयरोगीले १५ जना सम्मलाई क्षयरोगका किटाणु सार्न सक्ने भएकाले आवासगृहमा राखेर उपचार गरिंदै आएको संस्थाले जनाएको छ ।