निशुल्क औषधिको जिम्मा जिल्लालाई नै दिइने
काठमाडौं,१४ माघ – सरकारले निशुल्क औषधि आपूर्ति र व्यवस्थापनको जिम्मा सम्बन्धित जिल्लालाई नै दिने तयारी गरेको छ ।केन्द्रबाट गाउँका स्वास्थ्य संस्थाहरु सम्म औषधि पुर्याउने काममा विभिन्न खाले समस्या देखिएपछि जिल्लालाई नै उत्तरदायी र जवाफदेही बनाउने तयारी भइरहेको आपूर्ति व्यवस्था महाशाखाले जनाएको छ ।अहिले केन्द्रबाट क्षेत्रीय मेडिकल स्टोर र जिल्ला सम्मको औषधि ढुवानीमा समस्या नदेखिएको महाशाखाको भनाई छ । जिल्लाबाट गाउँ सम्म भने ढुवानी लगायतका समस्या देखिएकाले तेश्रो पक्षलाई समेत सहभागी गराउने गरी सार्वजनिक निजी साझेदारी कार्यक्रमका आधारमा औषधि आपूर्ति गर्ने तयारी भईरहेको महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा दिनेश चापागाईंले जानकारी दिए ।स्थानीय सहभागीता भए आपूर्ति प्रभावकारी हुने ठहर गरी जिल्लालाई नै सहभागी गराउन लागिएको हो अहिले सोलुखुम्बु, मोरङ्ग, कपिलवस्तु र उदयपुरमा त्यसको परिक्षण पनि भईरहेको छ ।
एक वर्षको परिक्षण अवधिमा सार्वजनिक नीजि साझेदारीमा वा अरु कुनै उपयुक्त माध्यम भेटिए त्यसैको आधारमा जिल्लालाई नै व्यवस्थापन गर्न दिईने उहाँले बताउनुभयो । केन्द्रबाट जिल्ला सम्म पुगेको औषधी गाउँ सम्म बेलामा पुग्नका लागि अहिले ढुवानी मुख्य समस्या देखिएको छ । माग गरेको बेलामा औषधि पाउन नसक्दा स्वास्थ्य संस्था र बिरामीले समस्या भोग्दै आएका छन् ।