आज विश्व मिर्गौला दिवस

२०७० फाल्गुन २९ गते, बिहीबार


काठमाडौ,२९ फागुन। ‘उमेरसंगै मिर्गौला पनि वृद्ध हुनसक्छ’ भन्ने नाराका साथ आज विश्व मिर्गौला दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदैछ मिर्गौला दिवसको अवसरमा मानव अंग प्रत्यारोपण केन्द्रले खुलामञ्चमा निशुल्क मिर्गौला परीक्षण शिविर सञ्चालन गरेको छ ।
मानव स्वास्थ्यमा मिर्गौलाको महत्वमा जोड दिंदै र मिर्गौला रोगको प्रभाव घटाउन जनचेतना जगाउने उद्धेश्यले हरेक मार्च महिनाको दोश्रो बिहीबार मिर्गौला दिवस मनाउने गरिएको छ ।४० वर्ष नाघेपछि मिर्गौलाको शुद्धीकरण गर्ने क्षमता घट्दै जाने भएकाले बढ्दो उमेरसंगै मिर्गौलाई पनि विशेष हेरचाह गर्नुपर्नेमा यो वर्षको दिवसले जोड दिएको छ । नेपालमा झण्डै ३० लाख जनामा कुनै न कुनै किसिमको मिर्गौला सम्बन्धि रोग लागेको र एक वर्षमा झण्डै ३ हजार जनाको दुवै मिर्गौला फेल हुने गरेको अनुमान छ ।
मिर्गौला रोगको शुरुवाती चरणमा कुनै लक्षण नदेखिने र अन्तिम अवस्थामा मात्रै विभिन्न लक्षण देखिने भएकाले बेलैमा परिक्षण गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिएका छन् । मिर्गौला फेल भइसकेपछि शरीरका विभिन्न भाग सुन्निने, थकान महसुस हुने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, पिसाबमा रगत देखिने, फिंज आउने, कम पिसाब आउने जस्ता लक्षण देखिन्छ ।
रोग लागिसकेपछि डायलासिस र प्रत्यारोपणमा ठूलो रकम खर्च हुने र प्रत्यारोपण गरिसकेपछि पनि महंगो औषधि खाइरहनुपर्ने भएकाले बेलैमा ध्यान दिन चिकित्सकले आग्रह गरेका छन् । मिर्गौला रोगबाट बच्न आफूलाई शारीरिक रुपमा सक्रिय राख्न, मधुमेह र रक्तचाप नियन्त्रण गर्न, स्वस्थ खाना खान, नूनको प्रयोग कम गर्न, पर्याप्त पानी पिउन, धुमपान र सूर्तीजन्य पदार्थ सेवन नगर्न र बेला बेलामा परिक्षण गर्नुपर्ने मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले बताए ।
मिर्गौला रोगको उपचार महंगो भएपनि रोग लागे नलागेको पत्ता लगाउन जम्मा ९० रुपैयाँ मात्रै लाग्ने भएकाले त्यसमा बेवास्ता नगर्न उनले आग्रह गरे । डा. श्रेष्ठका अनुसार रगतमा क्रियाटिनिन र पिसाबमा प्रोटिनको जाँचबाट मिर्गौला रोग लागे नलागेको पत्ता लगाउन सकिन्छ । सरकारले मिर्गौला रोगको उपचारका लागि विपन्न नागरिकलाई डायलासिस निशुल्क र प्रत्यारोपणमा १ लाख रुपैयाँसम्म अनुदान दिने गरेको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार